काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ को शहरी स्वास्थ्य केन्द्रमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोग र वडा नं. ७ शहरी स्वास्थ्य केन्द्रको सहकार्यमा आँखा शिविर आयोजना गरिएको हो ।

शिविरमा १ सय ६० जनाले आँखा जाँच गराएको वडा नं. ७ का वडा सदस्य भुवन कुमार केसीले जानकारी दिनुभयो । जसमध्ये २३ जनामा मोतिविन्दु देखिएको र उनीहरुको शल्यक्रिया गर्नुपर्ने उहाँले जानकारी दिनुभयो । मोतिविन्दुका विरामीलाई नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा निःशुल्क उपचारको व्यवस्था रहेको पनि उहाँले बताउनुभयो ।




शिविरमा आँखाका सामान्य विरामीलाई निःशुल्क औषधि वितरण गरिएको वडा सदस्य एवम् नगर कार्यपालिका सदस्य उमा कुमारी थापाले बताउनु भयो । वडाबासीको माग र आग्रहमा शिविर सञ्चालन गरेको बताउँदै थापाले आगामी दिनमा पनि यस्ता प्रकारका स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भयो ।

शिविरमा निःशुल्क औषधि वितरण, परामर्श लगायतको सेवा प्रदान गरिएको थियो । शिविरबाट अति गरिब, विपन्न समुदायको नागरिकलाई प्रत्यक्ष लाभ पुगेको आयोजकको भनाइ छ ।



