भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरेको छ।आयोगले आवश्यक प्रमाण तथा कागजात संकलनको काम पूरा भइसकेको जनाउँदै अब दुवै पूर्वपदाधिकारीसँग बयान लिने चरणमा प्रवेश गरेको बताएको हो। आयोग सदस्य विज्ञानराज शर्माका अनुसार यसअघि औपचारिक पत्र नपठाइए पनि अब छिट्टै बयानका लागि पत्र पठाउने तयारी भइरहेको छ।
यसैबीच, पूर्वप्रधानमन्त्री ओलीले भने आयोगसमक्ष उपस्थित भएर बयान नदिने अडान लिँदै आएका छन्। हालै एक टेलिभिजन अन्तर्वार्तामा उनले आयोगमा नजाने स्पष्ट पार्दै, आयोगका सदस्यहरू घर आए चिया खुवाएर फर्काइदिने टिप्पणी गरेका थिए। तर आयोग सदस्य शर्माले भने ओली र लेखक दुवै जना तीन दिनभित्र आयोगसमक्ष उपस्थित हुने विश्वास व्यक्त गरेका छन्। तोकिएको समयभित्र बयानका लागि नआए सरकारसँग औपचारिक पत्राचार गरिने र त्यसपछि कानुनी प्रक्रिया अनुसार बयान लिने प्रक्रिया अघि बढाइने उनले बताए।






