प्रधानमन्त्री सुशिला कार्कीले प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनका विषयमा आज छलफल गर्दै हुनुहुन्छ । उहाँहरुबीच अपरान्ह ४ बजे बालुवाटारमा भेटवार्ता हुन लागेको हो । निर्वाचनको अन्तिम तयारी र दलहरूबीचको थप समन्वयका लागि प्रधानमन्त्री कार्कीले बालुवाटारमा शीर्ष नेताहरुसँग छलफल गर्न लागेको सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतलनिवासमा भएको थियो । त्यसैको निरन्तरतास्वरुप आज प्रधानमन्त्री कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गर्न लाग्नु भएको हो । सरकारले फागुन २१ मा निर्वाचन गर्ने तयारी गरेपनि दलहरूले शान्ति सुरक्षा लगायतमा प्रश्न उठाउँदै आएका छन् ।
शुक्रबार मन्त्री खरेलले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग उहाँहरुकै निवासमा पुगेर निर्वाचनको वातावरण बनाउन आग्रह गर्नुभएको थियो । भेटवार्तापछि सञ्चारमन्त्री खरेलले फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन तोकिएकै समयमा हुने र त्यसमा सबै राजनीतिक दलहरू सहभागी हुने बताउनु भएको थियो ।यसअघि मन्त्री खरेलसहित कानुनमन्त्री अनिलकुमार सिन्हाले जेनजी आन्दोलनमा क्षति भएका राजनीतिक दलका कार्यालयको अनुगमन र दलका नेताहरूसँग कुराकानी गर्नुभएको थियो ।






