नवलपरासी (बर्दघाट सुस्ता पूर्व) — पूर्व-पश्चिम राजमार्गको महत्वपूर्ण खण्ड मानिने दाउन्नेमा शीतलहरका कारण सडक अवरुद्ध हुँदा यात्रुहरूले ठूलो सास्ती खेप्नुपरेको छ। अत्यधिक शीतलहरले सडकको सतह भिज्दा सवारी साधन चिप्लिएर गुड्न नसकेपछि विगत १५ घण्टादेखि आवागमन पूर्ण रूपमा बन्द भएको हो।



प्रहरीले के भन्यो?
इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी नायव निरीक्षक ज्ञानप्रसाद काफ्लेका अनुसार दाउन्नेको उकालो र ओरालो दुवैतर्फ सडक अत्यन्तै चिप्लो भएको छ। “गाडीहरू नियन्त्रण बाहिर गएर गुड्न नसकेपछि सुरक्षाका कारण सवारी साधन रोक्नुपरेको हो,” उनले भने। सडक अवरुद्ध भएपछि पश्चिमतर्फ बर्दघाट र पूर्वतर्फ दुम्कीबासमा गाडीहरूको लामो लाइन लागेको छ।
यात्रुको बिचल्ली
लामो समयसम्म जाममा फस्दा विशेषगरी बालबालिका, वृद्धवृद्धा र बिरामी यात्रुहरू बढी मर्कामा परेका छन्। काठमाडौंबाट बुटवलका लागि छुटेका यात्रु विनोद परियारले आफू १४ घण्टादेखि सडकमै अलपत्र परेको बताए। चिसो मौसममा खानपान र शौचालयको समेत असुविधा हुँदा यात्रुहरूको बिचल्ली भएको छ।
सडकको अवस्था
नारायणगढ-बुटवल सडक विस्तारको काम जारी रहेकाले दाउन्ने खण्ड अझै पनि निर्माणाधीन अवस्थामै छ। अन्य क्षेत्रमा सडक केही सहज भए पनि दाउन्नेको भौगोलिक बनावट र बाँकी रहेको निर्माण कार्यले गर्दा सामान्य वर्षा वा शीतलहर हुँदा पनि यो क्षेत्र पटक-पटक अवरुद्ध हुने गरेको छ।
प्रहरीले मौसममा सुधार आएर सडकको सतह सुक्खा भएपछि मात्र यातायात सुचारु गरिने जानकारी दिएको छ। यात्रामा निस्कनुअघि सडकको अवस्थाबारे जानकारी लिन ट्राफिक प्रहरीले सबैमा आग्रह गरेको छ।



