काठमाडौं । आज ३०४औँ पृथ्वी जयन्ती । नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको स्मृति दिवस । आजको दिन नेपालमा राष्ट्रिय एकता दिवसका रुपमा मनाउने गरिन्छ । त्यसैले आजका दिनमा पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै नेपालभर विविध कार्यक्रमको आयोजना गरेर मनाउने गरिन्छ ।

यसै सन्दर्भमा नेपालका इतिहासकार, वरिष्ठ कवि एवं सर्जकहरूले फरक तर सिर्जनात्मक शैलीमा पृथ्वीनारायण शाह तथा नेपालको राष्ट्रियतासम्बन्धी रचनाहरू प्रस्तुत गरेर उनलाई स्मरण गरेका छन् ।
सर्जकहरूले पृथ्वीनाराण शाहले सुरु गरेको नेपाल एकीकरण अभियानको इतिहाससँगै जोडिएर आउने काठमाडौँको चन्द्रागिरि डाँडास्थित पृथ्वीनारायणको सालिकसामु उनको योगदान तथा नेपालको राष्ट्रियतासम्बन्धी सृजना तथा रचनाहरू प्रस्तुत गरेर श्रद्धाभाव प्रकट गरे ।

कार्यक्रममा इतिहासकार प्रा. डा दिनेशराज पन्तले पृथ्वीनारायण शाहले चन्द्रागिरि डाँडाबाट काठमाडौँ उपत्यकाको सुन्दरता देखेपछि कीर्तिपुरसहित काठमाडौँ खाल्डोलाई गोर्खा राज्यअन्तर्गत एकीकरण गर्ने योजना बनाएको इतिहास सुनाउनुभयो । उहाँले पुर्खाले यो देशका लागि गरेको योगदानको स्मरण गर्दै वर्तमान पुस्ताले नेपालीपन राष्ट्र र राष्ट्रियताका लागि अब केही गर्नुपर्ने बेला आएको उहाँको भनाइ थियो ।

अर्का वरिष्ठ कवि एवं गीतकार दिनेश अधिकारीले पृथ्वीनारायण शाहले नेपाली भूभागको एकीकरण गरी सबै नेपालीलाई भावनात्मक एकताको सूत्रमा बाँधेको प्रसङ्ग कवितामा प्रस्तुत गर्नुभयो । यसैगरी, वरिष्ठ कवि डा. राजुबाबु श्रेष्ठ, कवि हेम प्रभास, नारायण निरासी, एसपी कोइराला, एलिसा ढुंगाना, प्रधुम्न जोशी, कृष्ण बन्जाडे, प्रभाती किरण, मणी लोहनी, दिनेश परियार लगायतका कवि तथा सर्जकहरुले कवितामार्फत पृथ्वीनारायण शाहको स्मरण गर्नुभएको छ ।

चन्द्रागिरिमा निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिकमा राष्ट्रिय एकता दिवसका अवसरमा हरेक वर्ष विविध कार्यक्रमको आयोजना हुने गर्दछ । कार्यक्रममा चन्द्रागिरि हिल्सका कम्पनी सचिव झलक पौडेलले देशका विभिन्न स्थानमा सालिक ढालिरहेको अवस्थामा नेपाल एकीकरणको इतिहाससँग जोडिएको ऐतिहासिक चन्द्रागिरि डाँडामा पृथ्वीनारायण शाहको सालिक निर्माण गरिएको स्मरण गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय