काठमाडौँ । महानगरपालिकाका मेयर बालेन शाहले माघ ५ गते पदबाट राजीनामा दिने तयारी गरेका छन् । बालेन शाहको सचिवालय स्रोतका अनुसार उनले प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनका लागि राजीनामा दिन लागेका हुन् ।



सचिवालयका एक सदस्यले भने, “उहाँले राजीनामा दिने निश्चित भइसकेको छ । माघ ५ गते औपचारिक रूपमा राजीनामा आउनेछ ।” स्रोतका अनुसार राजीनामा पश्चात् बालेन शाह निर्वाचन तयारीका लागि झापा–५ जाने तयारीमा छन् ।
राजनीतिक स्रोतहरूका अनुसार बालेन शाह झापा–५ निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने सम्भावनालाई लिएर सक्रिय छन् । यसैक्रममा उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग झापा–५ बाट चुनाव लड्ने विषयमा छलफल गरिरहेको बताइएको छ ।
यद्यपि बालेन शाहले अहिलेसम्म सार्वजनिक रूपमा राजीनामा वा निर्वाचन लड्ने विषयमा औपचारिक घोषणा भने गरेका छैनन् । उनका पछिल्ला राजनीतिक गतिविधि र सचिवालय स्रोतबाट आएको जानकारीले भने उनको आगामी कदम राष्ट्रिय राजनीतितर्फ केन्द्रित हुने संकेत गरेको छ ।
यदि बालेन शाहले मेयर पदबाट राजीनामा दिए भने काठमाडौँ महानगरपालिकाको नेतृत्व र स्थानीय राजनीतिक समीकरणमा ठूलो प्रभाव पर्ने अनुमान गरिएको छ । साथै, स्वतन्त्र छविका कारण चर्चामा रहेका बालेन शाहको प्रतिनिधिसभा निर्वाचनमा प्रवेशले राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याउने विश्लेषकहरूको भनाइ छ ।



