एजेन्सी । अमेरिकाले इरानमा रहेका आफ्ना नागरिकहरूलाई तत्काल फिर्ता हुन आग्रह गरेको छ । अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै हालको अवस्थालाई गम्भीर भन्दै सकेसम्म चाँडो इरान छाड्न अनुरोध गरेको हो । इरानका विभिन्न भागमा सरकारविरुद्धका प्रदर्शन तीव्र बन्दै गइरहेको र ती प्रदर्शन हिंसात्मक हुन सक्ने सम्भावना रहेको दूतावासको चेतावनीमा उल्लेख छ । यस्तो अवस्थामा पक्राउ पर्न सक्ने, घाइते हुने वा अन्य जोखिम बढ्न सक्ने भन्दै अमेरिकी नागरिकहरूलाई सतर्क रहन भनिएको छ ।



जारी गरिएको एडभाइजरीमा अमेरिकी नागरिकहरूलाई वैकल्पिक सम्पर्क माध्यमको व्यवस्था गर्न र यदि सम्भव भएमा आर्मेनिया वा टर्की हुँदै स्थलमार्गबाट इरान बाहिरिने विकल्पबारे विचार गर्न सुझाव दिइएको छ । यदि तत्काल इरान छाड्न नसक्ने अवस्था भए सुरक्षित स्थानमा बस्न, आवश्यक खाद्य सामग्री, पानी, औषधि र अन्य अत्यावश्यक वस्तुहरू संकलन गरेर राख्न भनिएको छ । साथै, प्रदर्शन क्षेत्रबाट टाढा रहन र वरपरको अवस्थामाथि निरन्तर निगरानी राख्न पनि आग्रह गरिएको छ ।
इरानमा अमेरिकाको प्रत्यक्ष कूटनीतिक उपस्थिति छैन । अमेरिकाको तर्फबाट स्विट्जरल्यान्डले ‘प्रोटेक्टिङ पावर’को भूमिका निर्वाह गर्दै आएको छ भने अमेरिकी विदेश मन्त्रालयले यूएस भर्चुअल एम्बेसी इरानमार्फत सूचना प्रवाह गरिरहेको छ । इरानमा पछिल्ला करिब दुई हप्तादेखि सरकारविरुद्ध प्रदर्शन जारी रहेका छन् । यसैबीच, सरकार समर्थक समूहहरूले पनि विभिन्न स्थानमा ¥याली तथा प्रदर्शन गरेका छन् ।



