काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट बुधबार मध्यराति सभापतिमा निर्वाचित भएका गगन थापाले कांग्रेसजस्तो ऐतिहासिक र लोकतान्त्रिक पार्टीको नेतृत्व गर्न पाउनु आफूका लागि गर्वको विषय भएको बताएका छन् ।
विशेष महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले आफूलाई दिइएको जिम्मेवारी इमानदारी, निष्ठा र पूर्ण समर्पणका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पार्टीका नेता तथा कार्यकर्ताको सम्मान, स्वाभिमान र आत्मसम्मान जोगाउनु आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट पारे ।
‘कांग्रेसका कुनै पनि नेता–कार्यकर्ताको शिर निहुरिन दिनेछैनौँ,’ भन्दै थापाले पार्टीलाई एकताबद्ध, अनुशासित र जनताको भरोसामा आधारित बलियो राजनीतिक शक्तिका रूपमा उभ्याउने संकल्प व्यक्त गरे ।
उनले विशेष महाधिवेशनले कांग्रेसभित्र नयाँ ऊर्जा, भरोसा र दिशानिर्देशन दिएको उल्लेख गर्दै सबै तहका नेता–कार्यकर्तालाई एउटै लक्ष्यका साथ अघि बढ्न आग्रह गरे ।






