काठमाडौँ । अमेरिकाले नेपालसहित विश्वका ७५ देशका नागरिकका लागि आप्रवासी (इमिग्रेन्ट) भिसा प्रक्रिया अस्थायी रूपमा स्थगित गरेको छ। अमेरिकी विदेश मन्त्रालयले ‘पब्लिक चार्ज’ (राज्यको सहायतामा निर्भर हुन सक्ने) आशंकाका आधारमा भिसा आवेदकको कडाइका साथ छानबिन गर्न भन्दै यो निर्णय गरेको हो।

फक्स न्यूज डिजिटलले पहिलो पटक सार्वजनिक गरेको विदेश मन्त्रालयको आन्तरिक मेमोअनुसार जनवरी २१ देखि यो व्यवस्था लागू हुनेछ भने पुनरावलोकन नसकिँदासम्म अनिश्चितकालका लागि जारी रहनेछ। उक्त निर्देशनमा कन्सुलर अधिकारीहरूलाई विद्यमान कानुन प्रयोग गर्दै भिसा अस्वीकार गर्न भनिएको छ, जबसम्म भिसा प्रक्रिया र स्क्रिनिङ प्रणालीको पुनर्मूल्यांकन पूरा हुँदैन।

यसअघि नोभेम्बर २०२५ मा विदेश मन्त्रालयले विश्वभरका आफ्ना दूतावास र कन्सुलेट कार्यालयहरूलाई ‘पब्लिक चार्ज’ प्रावधानअन्तर्गत कडा स्क्रिनिङ लागू गर्न निर्देशन दिएको थियो। नयाँ मार्गदर्शनअनुसार आवेदकको स्वास्थ्य अवस्था, उमेर, अंग्रेजी भाषाको ज्ञान, आर्थिक स्थिति, दीर्घकालीन स्वास्थ्य उपचारको सम्भावित आवश्यकता लगायतका आधारमा मूल्यांकन गरिनेछ।

मार्गदर्शनमा अघिल्ला दिनमा सरकारी नगद सहायता लिएका, कुनै संस्थागत संरक्षणमा बसेका, अत्यधिक उमेर भएका वा बढी तौल (ओभरवेट०)भएका आवेदकसमेत भिसा अस्वीकृत हुन सक्ने उल्लेख छ।अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले भने, “अमेरिकी जनताको उदारताको दुरुपयोग गर्दै सरकारी सुविधा लिने सम्भावना भएका आप्रवासीलाई अयोग्य ठहर गर्न विदेश मन्त्रालयले आफ्नो दीर्घकालीन अधिकार प्रयोग गर्नेछ।”उनका अनुसार, ७५ देशबाट हुने आप्रवासन प्रक्रिया पुनरावलोकन नभएसम्म रोक लगाइनेछ, ताकि कल्याणकारी सुविधा र सामाजिक सुरक्षामा भार पर्ने विदेशी नागरिकको प्रवेश रोक्न सकियोस्। सूचीमा सोमालिया, रुस, पाकिस्तान, अफगानिस्तान, ब्राजिल, इरान, इराक, इजिप्ट, नाइजेरिया, थाइल्याण्ड, यमनलगायतका देशहरू समावेश छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय