एजेन्सी । फ्रान्स, जर्मनी र अन्य युरोपेली देशका सैनिकहरू ग्रीनल्याण्ड पुगेका छन् । अमेरिकाले ग्रीनल्याण्ड कब्जा गर्ने बताइरहँदा फ्रान्स र नेटोका युरोपियन देशले सैन्य अभ्यासका लागि सेना पठाएका हुन् । डेनमार्क र ग्रीनल्याण्डका प्रतिनिधिले अमेरिकासँग आधारभूत असहमति रहेको बताएपछि आर्कटिक टापुको सुरक्षाका लागि सैन्य गतिविधि बढेको हो । अमेरिकाले डेनमार्कको उक्त स्वायत्त क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । फ्रान्सले यसअघि नै १५ र जर्मनीले १३ सैनिक पठाइसकेको छ । यसमा नर्वे र स्वीडेन पनि सहभागी छन् ।

डेनमार्कले बुधबार ग्रीनल्याण्डमा आफ्नो सैन्य उपस्थिति बढाउने योजनाको घोषणा गरेको थियो । फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोनले युरोपेली सैन्य अभ्यासका लागि थप स्थल, जल र वायु सेनाका टोलीहरू पठाउने घोषणा गरेका छन् । उनले युरोपेली हित र क्षेत्रीय सार्वभौमसत्तामा खतरा पैदा भएको ठाउँमा फ्रान्सको उपस्थिति अनिवार्य हुने स्पष्ट पारेका छन् ।

उता नेटोभित्र बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै पोल्याण्डले आफ्नो सैनिक नपठाउने भएको छ । रूस वा चीनको कब्जा रोक्न ग्रीनल्याण्डमा आफ्नो नियन्त्रण कायम हुनुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउँदै आएका छन् । ट्रम्पलाई सुरक्षाको विश्वास दिलाउन डेनमार्क र उसका सहयोगीले त्यहाँ सैन्य अभ्यासको तयारी गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय