काठमाडौं – नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध अदालत जाने निर्णय गरेको छ। आज बिहान पार्टी कार्यालय सानेपामा बसेको बैठकले आयोगको माघ २ गतेको निर्णय नेपालको संविधान, प्रचलित कानुन र पार्टीको विधान विपरीत भएको ठहर गरेको बताएको छ। बैठकपछि नेता डा। प्रकाशशरण महतले आयोगको निर्णयलाई “दुराशयपूर्ण” र “दूषित मनसाय” बाट प्रेरित रहेको भन्दै संवैधानिक तथा कानुनी उपचार खोज्ने तयारी रहेको जानकारी दिए।



महतले आयोगले अर्को पक्षले गरेको विशेष महाधिवेशनको वैधानिकता र उपस्थित सङ्ख्या समेत जाँच नगरी एकतर्फी निर्णय गरेको आरोप लगाए। उनले देउवा नेतृत्वको समिति नै पार्टीको आधिकारिक निकाय रहेको र सानेपा कार्यालय छोड्ने कुनै प्रश्न नभएको पनि स्पष्ट पारे। देउवा पक्षले कानुनी लडाइँसँगै राजनीतिक रूपमा पनि आयोगको निर्णयको सशक्त प्रतिवाद गर्ने तयारी गरेको जनाएको छ।



