काठमाडौं । आगामी फागनु २१ गते हुने प्रतिनिधिसभा निवार्नचनबाट पूर्वप्रधानमन्त्रीहरुमध्ये नेपाली कांग्रेसका शेरबहादुर देउवा र नेकपाका झलनाथ खनाल पछि हटेका छन् । नेकपा एमालेका केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल भने पुनः प्रधानमन्त्री बन्ने दाबीका साथ चुनावी मैदानमा उत्रिएका छन् । यस्तै अन्य दुई पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई पनि चुनावी मैदानमा उत्रिएका छन् । चुनावी मैदानमा उत्रिएका सबै पूर्वप्रधानमन्त्रीहरुको प्रतिष्पर्धा यसपटक भने रोचक हुने निश्चित प्रायः छ ।



यसपटकको निर्वाचनमा सबैको केन्द्रविन्दु बनेको छ झापा क्षेत्र नं. ५ । एमाले अध्यक्ष ओलीलाई चुनौती दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह उम्मेदवारी दिएपछि झापा–५ चर्चामा छ । दुबै नेताले आफू नेपालको भावी प्रधानमन्त्रीको दाबी समेत गरिरहेका छन् । ओलीले झापा–५ बाटै ६ पटक चुनाव जितिसकेका छन् भने चार पटक प्रधानमन्त्री भइसकेका छन् ।
फागुन २१ को चुनावमा सबैको ध्यान झापा ५ मा केन्द्रित छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले उम्मेदवारी दिएपछि यो क्षेत्रले थप चर्चा पाएको हो । दुवै नेता भावी प्रधानमन्त्रीको दावेदारसमेत हुन् । ओलीले यसअघि २०६४ मा बाहेक ६ पटक यसै क्षेत्रबाट चुनाव जितेर र ४ पटक प्रधानमन्त्री बन्नुभयो ।
भदौ २३ र २४ गतेको आन्दोलनले ओलीलाई उम्मेदवार बन्नलाई त केही असर परेन तर, नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवलाई भने ठूलै धक्का लाग्यो । सातपटकसम्म चुनाव जितेको ठाउँमा डडेलधुराबाटै पुनः इच्छा थियो देउवाको तर विशेष महाधिवेशनबाट सभापतिको पदसँगै चुनावी टिकट नपाएपछि देउवा पछि हट्न बाध्य भए । टिकट नपाएपछि देउवाको प्रधानमन्त्री बन्ने बाटो नै रोकियो ।
नेकपाका संयोजक प्रचण्ड भने सुरक्षित क्षेत्र खोज्दै रुकुम पुगेका छन् । २०६४ सालमा काठमाडौं–१० र रोल्पा–२ बाट जितेका प्रचण्ड २०७० सालमा काठमाडौं–१० बाट भने पराजित भए । सिरहा–५ मा पनि मुश्किलले जितेका थिए । २०७४ सालमा चितवन–३ बाट जितेका प्रचण्ड २०७९ मा फेरि सुरक्षित क्षेत्र खोज्दै गोरखा–२ पुगे ।
प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठले गोरखा छोडेर अन्यत्रै गएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई फेरि गोरखा–२ फर्किएका छन् । अघिल्लोपटक प्रचण्डलाई ठाउँ छोडेका भट्टराई यसपालि प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनावी प्रतिस्पर्धामा छन् । यो क्षेत्रबाट एमालेले मिलन गुरुङ अर्थात् चक्रे मिलनको नामले चिनिएकालाई उम्मेदवार बनाएको छ भने नेकपाले लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाएको छ । फरकफरक छविका यी दुई नयाँ अनुहारले चर्चा पाएको क्षेत्रमा पूर्वप्रधानमन्त्री भट्टराईको प्रवेशले गोरखा–२ को चुनावी रौनक थप बढाएको छ ।
यस्तै, अर्का पूर्व प्रधानमन्त्री एवम् नेकपामा सहसंयोजक माधव कुमार नेपाल आफ्नो पुरानै क्षेत्र रौतहट–१ पुगेका छन् । २०७९ सालमा नेकपा एकीकृत समाजवादीबाट चुनाव जितेका नेपालले यसपटक पनि आफ्नै गृहजिल्ला रौतहट रोजेका हुन् । नेपालका दुई सारथी झलनाथ खनाल र वामदेव गौतमले भने यसपटकको चुनावमा प्रतिस्पर्धा नगर्ने भएका छन् । इलाम–१ बाट लामो समयदेखि उम्मेदवारी दिंदै आएका खनाल २०५६ र २०७९ मा पराजित भएका थिए । यसपटक पनि इलाम सुरक्षित नदेखेपछि खनाल पछि हटेका हुन् । अर्का नेता गौतमले प्रतिनिधिसभा चुनावमा उठ्नकै लागि राष्ट्रिय सभाबाट राजीनामा दिएका थिए तर, बर्दिया–१ बाट उठ्ने पक्का भए पनि अन्तिम समयमा गौतमको चुनावी यात्रा रोकियो ।
उम्मेदवार बन्ने चाहना हुँदा पनि टिकट नपाउनेमा नेकपाका खनाल र गौतम मात्रै छैनन् । पूर्वप्रधानमन्त्री देउवासँगै कांग्रेसका पूर्णबहादुर खड्का, रमेश लेखक, धनराज गुरुङ, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, बालकृष्ण खाण, आरजु राणा, शशांक कोइराला, सुजाता कोइराला लगायतले पनि यसपालि अरूकै चुनावी प्रतिष्पर्धा हेरेर चित्त बुझाउने भएका छन् ।



