काठमाडौं । नेपाली राजनीतिमा कुनै बेला हुने विरुवाको चिल्लो पात भनिएका गगन थापा, अब नेपाली कांग्रेसको रुख थाम्ने मुख्य खम्बा बनेका छन् । पुस २७ देखि ३० सम्म भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले गगनलाई सभापति मात्र चुनेन, २६ वर्षपछि भावी प्रधानमन्त्रीको रिक्ततालाई समेत चिरेको छ । विश्वप्रकाश शर्माको प्रस्तावमा गगनलाई प्रधानमन्त्रीको रूपमा प्रोजेक्ट गरेर कांग्रेस चुनावमा होमिएको छ । बीपी कोइरालाको पदचापलाई पछ्याउँदै ४९ वर्षीय गगनले कसरी बदल्दै छन् त कांग्रेस ? अनि सानेपामा भावी प्रधानमन्त्री घोषित हुनुपूर्व पदभार ग्रहण कसरी भयो ?



नेपाली कांग्रेसको ८ दशक लामो इतिहासमा केही यस्ता मोड छन्, जसले पार्टीको मात्र होइन, देशकै नियति बदलेका छन् । पुस २७ देखि ३० सम्म काठमाडौंको भृकुटीमण्डपबाट निस्किएको रापले अहिले सानेपा मात्र होइन, देशैभर कम्पन पैदा गरेको छ । ४९ वर्षीय गगन कुमार थापा, कांग्रेसको नवीन संस्करण सुरुवातको संकल्पसहित भावी प्रधानमन्त्रीको म्यान्डेट लिएर चुनावी मैदानमा उत्रिएका छन् ।
‘हामीले कांग्रेस बदल्यौँ, अब रुखमै भोट हाल्न मिल्ने बनायौँ’ गगनको यो एउटै वाक्यले कांग्रेसभित्रको दशकौँ लामो निराशालाई आशामा बदलिदिएको छ । उपसभापति विश्वप्रकाश शर्माको प्रस्ताव र उपसभापति पुष्पा भुसालको समर्थनसहितको प्रस्तावलाई केन्द्रीय समितिले सर्वसम्मत पारित गरेसँगै कांग्रेसले आफ्नो रक्षात्मक राजनीतिलाई आक्रामक मोड दिएको छ । इतिहासको पाना पल्टाउँदा यो घटनाले २०१४ सालको त्यो क्षण सम्झाउँछ, जतिबेला सुवर्ण शम्शेरको प्रस्तावमा बीपी कोइराला सभापति बन्नुभएको थियो । त्यही ऊर्जाले २०१५ को चुनावमा कांग्रेसलाई दुई तिहाइको सफलता दिलायो र बीपी प्रधानमन्त्री बन्नुभयो । २०५६ सालमा कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्री तोकेर चुनावमा गएको २६ वर्षपछि, कांग्रेसले फेरि उही बीपी मोडल पछ्याउँदै गगनलाई अघि सारेको छ । हिजोका विद्रोही गगन आज संस्थापन हुनुहुन्छ । पार्टीको शक्तिशाली देउवा पक्ष रक्षात्मक बन्दा गगनको स्वीकार्यता सर्वमान्य सभापतिको दिशामा अघि बढेको छ । यो जोशिलो उमेरमा गगनको काँधमा १० लाख क्रियाशील सदस्यको मात्र होइन, परिवर्तन चाहने करोडौँ नेपालीको सपनाको भारी छ । त्यही भएर थापालाई भावी प्रधानमन्त्री तोकेको कांग्रेसको तर्क छ ।
केही दिन पहिला सानेपामा निषेधित जस्तै रहेका गगनका लागि शुक्रबार भने स्वागत गर्नेको लहर नै थियो । सडकमा गणतन्त्रको बिगुल फुक्ने क्रान्तिकारी युवादेखि संसदमा नीतिगत बहस छेड्ने तार्किक नेतासम्म, गगनले आफ्नो व्यक्तित्वलाई समयसापेक्ष निखार्दै ल्याउन सफल भएका छन् । अबको चुनाव केवल रुख अनि कांग्रेसको जितको लडाइँ मात्र हुने छैन, यो गगन थापाको नेतृत्व क्षमता र उनले देखेको समृद्ध नेपालको सपनाको वास्तविक परीक्षा हुनेछ । सानेपामा देखिएको यो उल्लासलाई मतपेटीकासम्म पु¥याउनु गगनका लागि मुख्य चुनौती हो । तर, गगनको उदयले एउटा कुरा पक्का गरेको छ– कांग्रेस अब पुरानो इतिहासको ब्याज मात्र खाने छैन, नयाँ भविष्यको किस्ता पनि लेख्न तयार भएको छ । विगतको विरासत र भविष्यको भरोसाको सङ्गममा उभिएका गगन थापा, के साच्चै २१औँ शताब्दीको बीपी कोइराला बन्न सक्लान त ? या रास्वपाले भावी प्रधानमन्त्री तोकेका बालेन शाह र एमालेले तोकेका केपी ओलीमाथि गाली गर्ने मेसिन मात्रै ? यसको उत्तर अबका ४२ दिन अनि चुनावको परिणामले दिनेछ ।



