काठमाडौं । जापान जाने नेपाली कामदारहरूले व्यक्तिगत श्रम स्वीकृति लिएर जाने क्रममा ठगी र अनियमितताको शिकार हुने गरेका छन् । विशेष गरी ब्याचलर, कुक र अन्य सिपयुक्त कामदारले आफूले पाउने रोजगार र तलब नपाउने, चर्को शुल्क तिर्नुपर्ने लगायत उजुरीहरू टोकियोस्थित नेपाली दूतावासमा आएका छन् ।



दूतावासले वैदेशिक रोजगार विभागलाई पत्राचार गर्दै व्यक्तिगत श्रम स्वीकृति लिएर जाने कामदार अत्यधिक ठगीमा पर्ने गरेको जानकारी गराएको छ । विभागले पनि वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने अनुमति नभएका कन्सल्टेन्सी, संस्था र व्यक्तिहरूबाट यस्तो काम हुन नदिन सचेत रहन आग्रह गरेको छ ।
विभागले सार्वजनिक सूचना जारी गर्दै कामदारहरूलाई आफ्नो भिसा प्रकार, रोजगारदाता कम्पनी र संस्था, करार सम्झौता तथा श्रम स्वीकृतिको आधिकारिक प्रक्रिया बारे जानकारी लिनु आवश्यक रहेको चेतावनी दिएको छ । झुटा आश्वासन दिई चर्को शुल्क असुल गर्ने व्यक्तिविरुद्ध प्रमाणसहित उजुरी दिन समेत अनुरोध गरिएको छ ।
पछिल्ला समयमा ट्रान्स्पोर्ट ड्राइभर क्यान्डिडेट भिसा लिएर जापान जाने प्रक्रियामा कामदारहरूको संख्या बढ्दै गएको छ । यस भिसामा ड्राइभिङ लाइसेन्स परीक्षा पास गरेपछि मात्र रोजगारी तथा रोजगारदाता खोज्ने व्यवस्था रहेको हुँदा, विभागले यस भिसामा श्रम स्वीकृति अत्यावश्यक सुरक्षा मापदण्ड पूरा नभएसम्म जारी नगर्ने जनाएको छ ।
दूतावास र विभागले कामदारहरूलाई वैध र सुरक्षित मार्गबाट मात्र व्यक्तिगत श्रम स्वीकृति आवेदन दिन तथा अनधिकृत निकायबाट जोगिन सतर्क रहन आग्रह गरेको छ ।



