काठमाडौं । भारी हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पाती हाल्ने क्षेत्रमा भारी हिमपात हुँदा लोकमार्ग अवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुँद सयौँ यात्रु अलपत्र परेका छन् । लामो तथा छोटो दूरीका सावारी साधान ठप्प भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जानकारी दिएको छ । अहिले पनि निरन्तर हिमपात भइरहेको हुँदा सडक खुलाउन समस्या भएको प्रहरीले जनाएको छ ।

हिमपात रोकिना साथ मेसिन प्रयोग गरेर सडकको हिउँ पन्छाउने प्रहरीको तयारी छ । काठमाडैँदेखि रुकुम, जाजरकोट, डोल्पा लगायत पश्चिम नेपाल जाने रात्री बस बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट सिपमा रोकिएका छन् । निसीखोला गाउँपालिका र पूर्वी रुकुमसँग समन्वय गरि सडक खुलाउने तयारी भइरहेको बताइएको छ ।

त्यस्तै नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । बुधबार राति २ बजेदेखि हिमपात हुन थालेको हो । हिमपातले स्थानीयको जनजीवन प्रभावित बनेको छ । ढोरपाटनमा गत शनिबार सामान्य हिमपात भएको थियो । हिमपातका कारण धारोमा समेत पानी जमेको स्थानीयहरुले बताएका छन् ।

हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको छ । अहिले पनि निरन्तर हिमपात भइरहेको भन्दै स्थानीयलाई हिडडुल गर्न समस्या भएको छ । मंगलबार दिउसोदेखि नै मौसम बदिली आएको थियो । माघ पहिलो सातादेखिनै अत्यधिक चिसोका कारण धारामा पानी जम्न थालेको थियो । हिमपातले गर्दा वस्तुभाउलाई घाँस दान हाल्नसमेत गाह्रो भएको स्थानीयहरुले बताएका छन् । अघिल्लो पटक सामान्य हिउँ परे पनि बाली नालीका लागि पर्याप्त नभएको भन्दै अहिले भारी हिमपात भएको स्थानीयको भनाइ छ ।

ढोरपाटनसँगै निसीखोलाको रिग, पातीहाल्ने, खानीखोला, निसेलढोरमासमेत हिमपात भएको छ । निरन्तर हिमपात भइरहेको हुँदा तल्लो क्षेत्रमा पनि पर्न सक्ने संभावना रहेको स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय