काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर–४ स्थित चन्द्रागिरि हाइकर्स कमिटीले आयोजना गरेको वर्तमान राजनीतिक अवस्था, समाजको वास्तविक परिस्थिति र युवा पुस्ताको सोच तथा भूमिकालाई केन्द्रीत गरेर छलफल कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय समुदाय, युवाहरु र विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागितामा भएको कार्यक्रममा देशको अहिलेको राजनीतिक दिशाबोध, समाजमा देखिँदै आएका विकृति–विसंगति र त्यसले नागरिक जीवनमा पारेको प्रभावबारे खुला छलफल गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूले पुराना राजनीतिक दल र पछिल्ला वर्षहरूमा उदाएका नयाँ राजनीतिक दलबीचको वैचारिक भिन्नता, कार्यशैली, विश्वसनीयता र जनअपेक्षाका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

त्यसैगरी, चन्द्रागिरि नगरपालिका भित्र देखिएका अनियमितता, वेथिति र सामाजिक समस्याहरूको पहिचान गर्दै ती समस्याविरुद्ध युवाहरुले खेल्नुपर्ने जिम्मेवार र नेतृत्वदायी भूमिकाबारे विशेष ध्यान दिइएको थियो । सहभागी युवाहरुले मौन बस्ने होइन, सचेत र संगठित भई समाज परिवर्तनको अग्रपंक्तिमा उभिनुपर्ने आवश्यकता औँल्याए थिए ।

छलफलमा युवाहरु नै परिवर्तनका संवाहक भएको उल्लेख गर्दै सकारात्मक सोच, नागरिक चेतना र जिम्मेवार सहभागिताबाट मात्र समाज र राजनीतिमा गुणात्मक सुधार सम्भव हुने निष्कर्ष निकालिएको थियो ।

आयोजक चन्द्रागिरि हाइकर्स कमिटीले यस्ता विचारमूलक कार्यक्रमले युवामा राजनीतिक र सामाजिक चेतना बढाउने, स्थानीय समस्याप्रति जिम्मेवार बनाउने तथा समग्र समाजलाई सही दिशातर्फ अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय