काठमाडौं । जिल्ला प्रशासन कार्यालय झापाले सामाजिक सञ्जाल प्रयोग गर्दा मतदाताको गोपनीयता भंग हुने कुनै पनि गतिविधि नगर्न सर्वसाधारण तथा सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
फेसबुक, युट्युब लगायतका माध्यममा “कुन दल, उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्नुहुन्छ?” भन्ने प्रश्न सोधेर अन्तर्वार्ता लिने क्रम बढ्दै गएको भन्दै प्रशासनले त्यसप्रति गम्भीर ध्यानाकर्षण गराएको हो ।



सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेजप्रसाद प्रसाइँ र अञ्जन न्यौपानेद्वारा आइतबार जारी विज्ञप्तिमा यस्तो कार्यले मतदाताको मौलिक अधिकारअन्तर्गत पर्ने गोपनीयता उल्लङ्घन हुने उल्लेख गरिएको छ । यस किसिमका गतिविधि निर्वाचन आचारसंहिता २०८२ को दफा ४(द) विपरीत रहेको पनि विज्ञप्तिमा स्पष्ट पारिएको छ ।
प्रशासनका अनुसार केही अनलाइन सञ्चारमाध्यमले मतदातासँग प्रत्यक्ष रूपमा उनीहरूको मतदान गर्ने दल, उम्मेदवार तथा चुनाव चिह्नबारे प्रश्न गरिरहेको सूचना प्राप्त भएपछि सार्वजनिक रूपमा सचेत गराइएको हो ।
यदी कसैले अटेरी गर्दै निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएमा प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रशासन कार्यालय झापाले चेतावनी दिएको छ ।



