काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलतर्फ प्रस्थान गरेको टर्किस एयरलाइन्सको जहाज उडानको केही मिनेटमै प्राविधिक समस्यामा परेको छ ।

जहाजको दायाँ इञ्जिनमा आगलागीको संकेत देखिएपछि उडानलाई भारतको कोलकातातर्फ मोडिएको हो । बुधबार दिउँसो १ बजेर २८ मिनेटमा उडेको उडान नम्बर टिएचवाई ७२७ ले आकाशमा उडेको करिब ४ मिनेटमै इञ्जिनमा समस्या देखिएको जानकारी चालक दलले विमानस्थललाई गराएको थियो । त्यसपछि पाइलटले दायाँ इञिजन बन्द गरी जहाजलाई केही समय पश्चिम दिशामा होल्ड गरेका थिए ।

एयरबस ए३३०–३०३ मोडेलको उक्त वाइडबडी जहाजमा २२५ जना यात्रु सवार थिए। इन्जिन बन्द गरेपछि आगलागी नियन्त्रणमा आएको र बाँकी बायाँ इन्जिनको सहायताले जहाज सुरक्षित रूपमा कोलकातातर्फ डाइभर्ट गरिएको बताइएको छ।

घटनापछि सुरक्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब १५ मिनेटका लागि पूर्ण रूपमा बन्द गरिएको थियो । दमकल, एम्बुलेन्स तथा अन्य आपतकालीन सेवा तयारी अवस्थामा राखिएका थिए । जहाज कोलकातामा सुरक्षित अवतरण गरेपछि त्रिभुवन विमानस्थलको उडान–अवतरण पुनः सामान्य अवस्थामा फर्किएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय