काठमाडौं । संयुक्त राज्य अमेरिकास्थित कार्यवाहक नेपाली राजदूत शरदराज आरणले अमेरिकी सरकारको भिसा नीति पालनामा ध्यान दिन नेपाली समुदायलाई चेतावनी दिएका छन् । उनी भन्छन्, अमेरिकामा रहेका नेपालीहरूले दुई कारणले आफ्नो भिसा वा ग्रीनकार्ड जोखिममा पार्न सक्छन् । पहिलो, अमेरिकी सरकारले उपलब्ध गराउने स्वास्थ्य सेवा, खाद्य सहायता, आवासीय सुविधा जस्ता सहुलियत गलत वा गैरकानुनी तरिकाले लिने । हालको तथ्यांकअनुसार ३४ प्रतिशतभन्दा बढी नेपालीहरूले यस्तो सेवा लिइरहेका छन् ।
दोस्रो, अमेरिकी सरकारले तोकिएको अवधि भन्दा बढी बस्ने (ओभरस्टे) र रोजगारी वा अन्य काममा अनुमति भन्दा फरक संलग्न हुने । सन् २०२४ का तथ्यांक अनुसार ३÷४ प्रतिशत नेपालीहरूले अमेरिकी भिसाको अवधि उल्लङ्घन गरेका छन् । राजदूत आरणले बताए अनुसार, यी गतिविधिहरूले भिसा र ग्रीनकार्ड रद्द हुने, देश निकाला हुने र भविष्यमा भिसा पाउन अस्वीकृत हुने जोखिम बढाउँछ । अमेरिकाले शून्य सहनशीलता अपनाएको र सामान्य उल्लङ्घन पनि अब कडा कारवाहीको विषय बनेको छ ।



अमेरिकी दूतावासले आफ्नो फेसबुक पोस्टमार्फत सबै नेपालीलाई प्रमाणिक कागजात प्रयोग गर्न, भिसा परामर्शमा सावधानी अपनाउन र अमेरिकी कानुनको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।
नेपालको परराष्ट्र मन्त्रालयले पनि विदेशस्थित नेपाली नागरिकहरूलाई आधिकारिक प्रक्रिया पालना गर्न अनुरोध गर्दै, गल्ती वा लापरबाहीका दुष्परिणामको जिम्मेवारी स्वयं आवेदकले बहन गर्नुपर्ने चेतावनी जारी गरेको छ । यस सूचनाले नेपाली समुदायलाई कानुनको पालना गर्न र भविष्यमा अमेरिकी भिसासम्बन्धी जोखिम कम गर्न स्पष्ट सन्देश दिएको छ ।



