काठमाडौं । चन्द्रागिरि नगरपालिका–५ को सहयोग, स्टिम शिक्षा प्रालिको आयोजना तथा श्री जन कल्याण माध्यमिक विद्यालयको सहकार्यमा सञ्चालन गरिएको स्टिम (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) शिक्षा कार्यक्रमले सबैको ध्यान खिचेको छ ।
कार्यक्रममा सहभागी ३० जना विद्यार्थीहरूले सेन्सरमा आधारित स्वचालित प्रणाली, रोबोटिक्स मोडेल तथा दैनिक जीवनमा प्रयोग गर्न मिल्ने प्रविधिक समाधानहरू प्रस्तुत गरेका थिए । सात विधामा तयार गरिएका परियोजनामध्ये तीन वटा परियोजना उत्कृष्ट घोषित गरिएको थियो ।



चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरिको सामुदायिक विद्यालयमा पहिलोपटक यस्तो प्रविधिमूलक शिक्षा सुरु भएको उल्लेख गर्नुभयो । उहाँले अब नगरभित्र रहेका प्रत्येक सामुदायिक विद्यालयलाई प्रविधिसँग जोडिएको र विद्यार्थीहरु विद्यालयबाट विदा भएर जाँदा प्रमाणपत्रसँगै सीप पनि सँगै लिएर जाने बताउनु भयो । उहाँले हातमा सीप भएपछि पछि के गर्ने, कहाँ जाने, भविष्य के होला ? भनि सोचेर समय खर्चनु नपर्ने र विदेश भौतारिने अवस्था नपर्ने दाबी गर्नुभयो । प्रमुख गिरीले नगरपालिका डिजिटल प्रणालीतर्फ अघि बढिसकेकोले सबै क्षेत्र डिजिटल भएपछि नगरपालिका सुशासनमा मजबुत हुने बताउनु भयो ।
त्यसैगरी वडा अध्यक्ष राजेन्द्र महर्जनले आफू यही विद्यालयको पहिलो एसएलसी ब्याचको विद्यार्थी भएको स्मरण गर्दै अहिले सामुदायिक विद्यालयको भौतिक संरचना र शैक्षिक गुणस्तर बोडिङ स्कुलभन्दा कम नभएको बताउनु भयो । उहाँले वडामा एउटै मात्र सामुदायिक विद्यालय रहेको र त्यसको स्तरोन्नितका लागि आफु र वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आयोजक संस्थाले यस्ता विद्यार्थी केन्द्रित नवप्रवर्तन कार्यक्रमलाई आगामी दिनमा थप विद्यालय र समुदायसम्म विस्तार गर्ने योजना समेत सार्वजनिक गरेको छ ।प्रदर्शनी अवलोकनका क्रममा जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा सरोकारवालाहरूले विद्यार्थीबाट परियोजनाबारे प्रत्यक्ष जानकारी लिँदा विद्यार्थीको आत्मविश्वास, सिर्जनशीलता र व्यवहारिक सिकाइ क्षमता स्पष्ट देखिएको थियो ।



