काठमाडौं । व्यवसायिक गीत–संगीतको भीडमा ओझेलिँदै गएको भक्ति र मौलिक संस्कृतिलाई पुनः केन्द्रमा ल्याउँदै राष्ट्रिय भजन प्रतियोगिता २०८२ सम्पन्न भएको छ । रत्ननगर नगरपालिका –१५ माधवपुर, चितवनमा भएको प्रतियोगितामा देशभरका उत्कृष्ट भजन समूहबीच भएको प्रतिस्पर्धामा भरतपुर महानगरपालिका–२१ स्थित ३३ कोटी आश्रम प्रथम हुन सफल भएको छ । प्रतियोगितामा सिन्धुलीको मगर भजन समूहले दोस्रो स्थान हासिल गर्दा काठमाडौं तारकेश्वरको भजन समूह तेस्रो स्थानमा सीमित भयो ।



यसैगरी चन्द्रागिरि नगरपालिका वडा नं. ७ स्थित वनदेवी गौचरण खैजेडी भजन समिति उत्कृष्ट दश भित्र पर्न सफल भएको छ । समितिका अध्यक्ष श्यामकुमार केसीको नेतृत्वमा प्रतियोगितामा सहभागी भएको हो । समितिका अध्यक्ष केसीले केही समयअघिमात्र स्थापना भएको भजन समिति राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट दशभित्र पर्न सक्नु पनि आफूहरुको सफलता भएको बताउनु भयो ।
कार्यक्रममा अतिथि तथा आयोजक प्रतिनिधिहरूले आधुनिक मनोरञ्जनको चापबीच भजन, लोकधुन र आध्यात्मिक संगीतलाई जोगाउनु आजको आवश्यकता भएको उल्लेख गरे । “भजन धार्मिक कर्म मात्र होइन, यो नेपाली समाजको आत्मा हो,” उनीहरूको भनाइ थियो ।
प्रतियोगिताका विजेता तथा उत्कृष्ट समूहहरूलाई सम्मानपत्र, दोसल्ला र नगद पुरस्कार प्रदान गरिएको थियो ।




