काठमाडौं । शनिबार हृदयघातका कारण निधन भएका कलाकार सुनिल थापाको अन्त्येष्टि गरिएको छ । आइतबार अपरान्ह ४ बजे पशुपति आर्यघाटमा हिन्दू परम्परा अनुसार उनको दाहसंस्कार गरिएको हो । उनलाई छोरा अनमोलले दागबत्ती दिएका थिए । अन्त्येष्टि अघि थापाको पार्थिव शरीरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरे ।
आइतबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम गरेपछि थापाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि चाबहिलस्थित चलचित्र विकास बोर्डको कार्यालयमा राखिएको थियो । त्यहाँ कलाकारदेखि राजनीतिज्ञसम्मले उनीप्रति श्रद्धाञ्जली अर्पण गरे । बोर्डबाट करिब २ बजे थापाको पार्थिव शरीर फूलले सिंगारिएको गाडीमा राखेर पशुपति आर्यघाट पुर्याइएको थियो । शनिबार बिहान शंखमुलस्थित आफ्नो अपार्टमेन्टमा बेहोस भएपछि कलाकार थापालाई उनका सहयोगीले थापाथलीस्थित नर्भिक अस्पताल पुर्याएका थिए । र, त्यहीँ उनले अन्तिम सास लिए । ६८ वर्षको उमेरमा निधन भएका उनका श्रीमतीसहित एक छोरा र एक छोरी छन् । मुम्बईमा बस्ने गरेका उनीहरू शनिबार साँझ मात्र काठमाडौं आइपुगेका थिए ।



‘राते काइँला’को रूपमा परिचित कलाकार थापाले आफ्नो करिअरमा डेढ सयभन्दा बढी फिल्ममा काम गरेका छन् । हिन्दी फिल्म ‘साहेब बहादुर’ बाट अभिनय करिअर सुरु गरेका उनको पहिलो नेपाली फिल्म ‘मसाल’ हो । तुलसी घिमिरे निर्देशित फिल्म ‘चिनो’ बाट दर्शकमाझ चिनिएका उनी पछिल्लो पटक गत पुष १७ गते प्रदर्शन भएको फिल्म ‘एक्लो’मा देखिएका थिए ।
थापाप्रति नेपालीसँगै भारतीय कलाकारहरूले पनि श्रद्धाञ्जली अर्पण गरेका छन् ।




