काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्रमाथि प्रहार गर्ने विश्व प्रतिक्रियावादी शक्तिको भूराजनीतिक चलखेल नेपालमा समेत देखिन थालेको बताएका छन् ।
सोमबार काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै दाहालले विचार, सिद्धान्त र राजनीतिक विरासत नभएकाहरू सामाजिक सञ्जालकै भरमा लोकप्रिय बन्न खोजिरहेको बताए । यस्ता प्रवृत्तिको प्रतिवाद गर्न नयाँ संकल्प र जनताप्रति समर्पित शक्ति आवश्यक रहेको उनको भनाइ थियो ।



दाहालले विकास निर्माण, सुशासन, भ्रष्टाचारविरुद्ध संघर्ष, सामाजिक न्याय र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नेकपा अघि बढिरहेको दाबी समेत गरे । सामाजिक सञ्जालको युग भए पनि प्रत्यक्ष जनसम्पर्क नै सबैभन्दा प्रभावकारी माध्यम भएको उनको भनाइ छ ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरू नेकपामा प्रवेश गरेका छन् ।




