काठमाडौं । नेपालमा अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । संघका अनुसार देशभित्र अण्डा उत्पादन बढ्नु र सोही समयमा भारतबाट पनि अण्डा भित्रिन थालेपछि बजारमा मूल्य घटाउनुपरेको हो । नयाँ मूल्यसूची अनुसार ठूलो अण्डा प्रतिक्रेट ३७५ रुपैयाँ, मिडियम ३४५ रुपैयाँ र एक्सएल अण्डा ३९० रुपैयाँ कायम गरिएको छ ।



यसअघि माघ २२ गते ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४३५ र मिडियमको ४०५ रुपैयाँ थियो । त्यसभन्दा अगाडि माघ ११ गते ठूलो अण्डा ४९५ र मिडियम ४७५ रुपैयाँसम्म पुगेको थियो । संघका अध्यक्ष विनोद पोखरेलले भारतीय सेतो अण्डा ठूलो परिमाणमा भित्रिन थालेको र त्यसको पर्याप्त अनुगमन हुन नसकेको बताए । उनका अनुसार सस्तो मूल्यमा आयात भएको अण्डासँग प्रतिस्पर्धा गर्न स्थानीय उत्पादकले पनि मूल्य घटाउनुपर्ने अवस्था आएको हो ।
गत मंसिर महिनामा अण्डाको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । त्यसबेला ठूलो अण्डा प्रतिक्रेट ५६५ र मिडियम ५५० रुपैयाँसम्म पुगेको संघले जनाएको छ ।




