काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि मित्रराष्ट्र भारतले गरेको सहयोगका लागि धन्यवाद दिनुभएको छ । मंगलबार सिंहदरबारमा भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटमा उहाँले भारत सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको हो ।



मुलुकको विशेष अवस्थामा हुन लागेको निर्वाचनलाई सहज रूपमा सम्पन्न गर्न सवारीसाधन लगायत विभिन्न सामग्री उपलब्ध गराएकोमा प्रधानमन्त्री कार्कीले धन्यवाद दिनुभएको हो ।
जवाफमा भारतीय राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा भारतको सदैव साथ रहने र मित्रवत् छिमेकीका नाताले सहयोग गर्नु आफ्नो कर्तव्य रहेको बताउनुभयो । निर्वाचनपछि नेपालले हासिल गर्ने लोकतान्त्रिक र संवैधानिक स्थिरता भारतका लागि पनि महत्वपूर्ण हुने राजदूत श्रीवास्तवको भनाइ थियो ।




