काठमाडौं । कारागार भनेको कानुन उल्लंघन गरी अदालतबाट दोषी ठहरिएका व्यक्तिलाई सजाय भोग्न राखिने स्थान हो । यसको उद्देश्य केवल दण्ड दिनु मात्र नभई समाजको सुरक्षा सुनिश्चित गर्नु, अपराध दोहोरिन नदिनु तथा कैदीलाई सुधार गर्दै जिम्मेवार नागरिकका रूपमा पुनःस्थापित गर्नु हो । तर, सिरहा कारागारमा पछिल्लो समय देखिएका घटनाक्रमले कारागारको यो मूल उद्देश्य विपरीत अवस्था देखिएको छ ।
सोमबार बिहान करिब ११ बजे प्राप्त गोप्य सूचनाका आधारमा गरिएको विशेष सर्च अपरेसनका क्रममा सिरहा कारागारका नाइके इन्द्रजित यादवको कोठाबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली तथा १ लाख २० हजार रुपैयाँ नगद बरामद गरिएको थियो । उक्त घटनापछि यादवसहित १३ जना कैदीलाई नियन्त्रणमा लिइएको थियो । नाइके यादवलाई कारागारबाट हटाइएको विरोधमा कैदीहरूले सोमबार दिनभरि र रातभरि कारागारको छतमाथि बसेर नाराबाजी गरे । उनीहरूले थाली बजाउँदै नाइके इन्द्रजितलाई फिर्ता गर, इन्द्रजित दाइ चाहियो, हाम्रो माग पूरा गर तथा सिडिओ, जेलर, एसपी, प्रहरी प्रशासन मुर्दावाद, जस्ता नारा लगाएका थिए । स्थिति नियन्त्रणमा लिन सोमबार राति करिब ९ बजे प्रहरीले पानीको फोहरा प्रयोग गरे पनि कैदीहरूको होहल्ला रोकिएन । पानीको फोहरा प्रयोगका क्रममा कैदीहरूले मोटर चलाएर प्रतिकार गर्दा केहीबेर दुबै पक्षबीच तनावको अवस्था सिर्जना भएको थियो । मंगलबार पनि कारागारभित्र नाराबाजी जारी छ ।



यो सिरहा कारागारको पहिलो घटना भने होइन । विगतमा पनि कैदीका दुई समूहबीच झैँ झगडा, कुटपिट तथा प्रतिबन्धित सामग्री फेला पर्ने घटनाहरू हुँदै आएका छन् । प्रहरी प्रशासन र कारागार प्रमुखहरूको मिलेमतोमा ती सामग्रीहरू भित्रिने गरेको स्थानीय बुद्धिजीवीहरूको आरोप छ । स्थानीय बुद्धिजीवीले कैदी वा नाइकेलाई अन्यत्र सारेर समस्या समाधान नभएको बताएका छन् । कारागारभित्र हतियार कसरी भित्रियो भन्ने विषय नै मुख्य अनुसन्धानको विषय हो । कारागार प्रमुख र सुरक्षामा खटिएका प्रहरीहरुकै मिलोमतोमा प्रतिबन्धित समाग्रीहरु भित्रीने गरेको आरोप समेत लागेको छ । त्यसैले कारागार प्रमुख र सुरक्षामा खटिएका प्रहरीमाथी छानबिन मात्र होइन, अविलम्ब निलम्बन गर्नुपर्ने माग पनि उठेको छ ।
हाल कारागारभित्र र बाहिर नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनासहित करिब २५० सुरक्षाकर्मी परिचालन गरिएको छ भ ने थप सुरक्षा टोली पनि खटाइँदै छ । जिल्ला सुरक्षा समितिको अनुगमनका क्रममा कारागारभित्रबाट हतियार, गोली, नगदका साथै चुरोट, सुर्ती जस्ता प्रतिबन्धित सामग्रीसमेत जफत गरिएको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले हातहतियार तथा प्रतिबन्धित सामग्री कसरी कारागारभित्र प्रवेश ग¥यो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । उनले अनुसन्धानका क्रममा कारागार प्रमुख वा सुरक्षामा खटिएका प्रहरी दोषी देखिए कडा कारबाही गरिने बताए ।
प्रशासनका अनुसार कारागारभित्र मदिरा तथा लागुऔषध कारोबार, मोबाइल फोनको अवैध प्रयोग र चन्दाका नाममा जबर्जस्ती असुली भइरहेको विशेष सूचनाका आधारमा उक्त अपरेसन गरिएको हो । यता, कारागारमा बढ्दो तनावका कारण छेउछाउका स्थानीय बासिन्दा डरत्रासमा रहेका छन् । सो अवस्थालाई नियन्त्रण गर्न जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको र बैठकको निर्णयअनुसार अगाडि प्रक्रिया बढाइने प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बरालले भने स्थानीयहरू आत्तिनुपर्ने अवस्था नरहेको र स्थिति सामान्य रहेको दाबी गरे ।
नियन्त्रणमा लिइएका कैदीहरू कर्तव्य ज्यान, डाका, अपहरण, ज्यान मार्ने उद्योग तथा लागुऔषधसम्बन्धी गम्भीर आपराधिक मुद्दामा संलग्न रहेको जनाइएको छ । उनीहरूलाई हात बाँधेर र आँखामा पट्टी बाँधी कारागारको भित्री गेटबाट बाहिर निकालेर जिल्ला प्रहरी कार्यालय सिरहाको नियन्त्रणमा राखिएको कैदीमध्ये एक जनाको सोही दिन छुट्ने समय भएकाले रिहा गरिएको र बाँकी १२ जनामध्ये सात जनालाई नुवाकोट कारागार, तीन जनालाई काठमाडौं केन्द्रीय कारागार र दुई जनालाई रौतहट कारागार हिजैराती पठाइसकेको कारागार प्रशासनले जनाएको छ । हाल घटनाबारे थप अनुसन्धान भइरहेको र कारागार सुरक्षामा कडाइ गरिएको प्रशासनले जनाएको छ ।
१५० जना कैदी राख्ने क्षमता रहेको सिरहा कारागारमा हाल ४३६ जना कैदीबन्दी राखिएका छन्, जसले कारागार व्यवस्थापनमाथि गम्भीर प्रश्न खडा गरेको छ ।




