काठमाडौं । परम्परागत संस्कृति र मौलिक पहिचान जोगाउने अभियानमा चन्द्रागिरि नगरपालिका–७ अग्रसर बनेको छ । घुमाउनेमा सम्पन्न वनदेवी गौचरण खैजडी भजन समितिको प्रारम्भिक साधारण सभाले लोपोन्मुख खैजडी भजनलाई नयाँ ऊर्जा दिएको छ ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले खैजडी भजनलाई पुनर्जीवित गर्ने काम वडा नं.– ७ का स्थानीयवासीले गरेको उल्लेख गर्दै यस अभियानले अहिले नगरका अन्य वडाहरूमा समेत सकारात्मक प्रभाव पारेको बताउनु भयो । उहाँले अब खैजडी भजनलाई संरक्षणमा मात्र सीमित नराखी व्यवसायिक रूपमा अघि बढाउन समेत आग्रह गर्नुभयो । उहाँले नगरपालिकाले विभिन्न परम्परागत बाजा संरक्षणमा लगानी गरिरहेको र कतिपय समूहले त्यसलाई आयआर्जनको माध्यम पनि बनाइसकेको जानकारी दिनुभयो । प्रमुख गिरीले खैजडी भजन अन्य बाजाजस्तो सहज नभएकाले यसको संरक्षण र प्रवद्र्धनमा नगरपालिका सधै प्रतिबद्ध रहने उल्लेख गर्नुभयो ।

उपप्रमुख बसन्ती श्रेष्ठले नगरपालिकाले आफ्नो सांस्कृतिक पहिचान स्थापित गर्न विविध कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भयो । खैजडी भजनमार्फत नगरलाई राष्ट्रिय स्तरमा चिनाउन सफल भएको उल्लेख गर्दै उहाँले कानूनी दायराभित्र रही धर्म, संस्कृति र पहिचानको संरक्षणमा पालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । साथै, उहाँले युवा पुस्तालाई संस्कृति हस्तान्तरण गर्नु आजको आवश्यकता भएको औंल्याउनु भयो ।

स्थापनाको डेढ वर्षमै वनदेवी खैजडी भजन समूहले चितवनको रत्ननगर नगरपालिका–माधवपुरमा आयोजित प्रतियोगितामा पाँचौँ स्थान हासिल गर्दै चन्द्रागिरिको नाम देशभर चिनाउन सफल भएको छ ।

कार्यक्रममा राष्ट्रिय लोकभजन चुट्का संरक्षण प्रतिष्ठान नेपालका चन्द्रागिरि नगर समितिका अध्यक्ष, योग युवा नेपालका राष्ट्रिय योग प्रशिक्षक, स्थानीय बुद्धिजीवी, ज्येष्ठ नागरिक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

चन्द्रागिरि–७ ले थालेको यो सांस्कृतिक जागरण अभियानले खैजडी भजनलाई पुनः जनमानसमा स्थापित गर्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय