काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विश्वव्यापी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा भारतले आफूलाई विश्वसनीय एआई साझेदारका रूपमा स्थापित गर्ने लक्ष्यसहित आगामी वर्षहरूमा डाटा सेन्टर पूर्वाधारमा दुई खर्ब डलर लगानी भित्र्याउने महत्वाकांक्षी योजना अघि सारेको छ । यसले भारतलाई प्रविधि प्रयोगकर्ता मात्र नभई एआई सेवा र पूर्वाधारको प्रमुख प्रदायक बनाउने दिशामा उन्मुख गरेको छ ।

भारतका इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अस्विनी वैष्णवले भारतलाई ‘खुला, किफायती र विकास–केन्द्रित समाधान’ खोज्ने ग्लोबल साउथ राष्ट्रहरूको भरोसायोग्य साझेदारका रूपमा हेरिन थालेको बताएका छन् । नयाँदिल्लीमा आयोजित एआई इम्प्याक्ट समिटमा २० भन्दा बढी विश्व नेताको सहभागिताले भारतको बढ्दो भूमिकालाई संकेत गरेको उनले उल्लेख गरे ।

सरकारले ३८ हजारभन्दा बढी जिपियु सहितको साझा कम्प्युटिङ सुविधा सञ्चालनमा ल्याएको छ, जसले स्टार्टअप र अनुसन्धानकर्तालाई कम लागतमा उच्च क्षमताको पहुँच दिनेछ। डाटा सेन्टर उद्योगलाई दीर्घकालीन कर छुट घोषणा गर्दै विदेशी पूँजी आकर्षित गर्ने रणनीति पनि अघि बढाइएको छ ।

गुगल, माइक्रोसफ्ट, अमेजन जस्ता प्रविधि दिग्गजहरूले अर्बौं डलर लगानी प्रतिबद्धता जनाइसकेका छन् । साथै, भारतले आफ्नै भाषामा आधारित सार्वभौम एआई मोडेल विकासलाई प्राथमिकता दिँदै समावेशी र विकास–केन्द्रित एआई भविष्य निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय