काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि विदेशबाट मात्रै ४२ लाख १५ हजार ४४८ रुपैयाँ सहयोग जुटेको छ । साम्बाका लागि ४८ हजार ६६८ न्यूजिल्यान्ड डलर संकलन भएको जनाइएको छ । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत भावुक सन्देश लेख्दै घुँडाको शल्यक्रियाका लागि आर्थिक सहयोगको अपिल गरेकी थिइन् ।



पछिल्लो सात हप्तादेखि चोटका कारण मैदान बाहिर रहेकी साम्बाले कतारस्थितAspetar Hospital घुँडाको शल्यक्रिया गर्ने बताएकी छन् । यसअघि पनि गम्भीर घुँडाको चोट लागेपछि उनको उपचार सोही अस्पतालमा भएको थियो। त्यतिबेला एन्फाका तत्कालीन अध्यक्ष कर्मा छिरिङ शेर्पाको पहलमा कतार फुटबल संघसँग समन्वय गरी निःशुल्क उपचारको व्यवस्था मिलाइएको थियो । तर यसपटक एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले प्रारम्भिक आश्वासन दिए पनि अन्ततः उपचार खर्च व्यहोर्न नसक्ने बताएपछि साम्बाले सार्वजनिक रूपमा सहयोग माग्नुपरेको बताइएको छ ।
साम्बाको उपचारका लागि नेपालभित्र पनि सहयोग उठ्ने क्रम जारी छ । एक्स्ट्रिम इनर्जीले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । साथै विभिन्न व्यक्ति र समर्थकहरूले व्यक्तिगत रूपमा रकम उपलब्ध गराइरहेका छन् ।
नेपाली महिला फुटबलको सफल यात्रामा महत्वपूर्ण योगदान दिँदै आएकी साम्बाका लागि देश–विदेशबाट देखिएको सहयोगले उनको छिटो स्वास्थ्यलाभ र मैदानमा पुनरागमनको आशा थप बलियो बनाएको छ ।



