मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला परिस्थितिका कारण त्यहाँ बसोबास तथा रोजगारीमा रहेका नेपाली नागरिकको सुरक्षालाई नेपाल सरकारले सर्वोच्च प्राथमिकतामा राखेको जनाएको छ। परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनमार्फत त्यहाँ रहेका नेपालीहरूको सुरक्षाका लागि आवश्यक कूटनीतिक र प्रशासनिक पहलहरू अघि बढाइएको जानकारी दिएको हो। मन्त्रालयका अनुसार प्रभावित क्षेत्रका लागि यात्रा सचेतना सूचना (ट्राभल एडभाइजरी) जारी गरिएको छ। सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावास तथा कूटनीतिक नियोगहरूले पनि सतर्कता सन्देश सार्वजनिक गरिसकेका छन्। साथै, विभिन्न देशहरूले सार्वजनिक गरिरहेका आधिकारिक अभिव्यक्ति र समग्र सुरक्षा अवस्थाको निरन्तर अनुगमन भइरहेको मन्त्रालयले स्पष्ट पारेको छ।

मध्यपूर्वमा नेपालीको अवस्था

सरकारी तथ्यांकअनुसार हाल मध्यपूर्वका विभिन्न देशमा झण्डै १७ लाख २९ हजारभन्दा बढी नेपाली नागरिक रहेका छन्। इरानमा १० जना नेपालीमध्ये ४ जना स्वदेश फर्किसकेका छन् भने ६ जना त्यहीँ छन्।

अन्य देशहरूमा रहेको अनुमानित नेपाली संख्या यस प्रकार छस्

इजरायल – करिब ६,५००

इजिप्ट – करिब ५००

ओमन – करिब २५,०००

कतार – ३ लाख ५७ हजारभन्दा बढी

कुवेत – १ लाख ७५ हजार

बहराइन – करिब २८ हजार

साउदी अरब – ३ लाख ८४ हजारभन्दा बढी

संयुक्त अरब इमिरेट्स – करिब ७ लाख

लेबनान – १,५००

इराक – करिब ३० हजार

साइप्रस – १७ हजार

समन्वय र आपतकालीन तयारी

संकट व्यवस्थापनलाई प्रभावकारी बनाउन मध्यपूर्वस्थित नेपाली राजदूत र नियोग प्रमुखहरूलाई समेटेर डिजिटल सञ्जाल ९ह्वाट्सएप समूह० गठन गरिएको छ। यसमार्फत हरेक देशको ताजा सुरक्षा अवस्था, सरकारी निर्णय तथा सम्भावित जोखिमबारे नियमित सूचना आदान–प्रदान भइरहेको जनाइएको छ।

सम्भावित उद्धार प्रक्रियालाई सहज बनाउन कन्सुलर सेवा विभागलाई अनलाइन दर्ता प्रणाली विकास गर्न निर्देशन दिइएको छ। यस प्रणालीमार्फत मध्यपूर्वमा रहेका नेपालीहरूले आफ्नो विवरण दर्ता गर्न सक्नेछन्। साथै, मोबाइल एप पनि तयार पारिँदैछ, जसले आकस्मिक अवस्थामा नागरिकको अवस्थाबारे शीघ्र जानकारी संकलन गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

२४ सै घण्टा सञ्चालन हुने कन्सुलर सहायता हटलाइन सुरु गर्ने तयारी पनि भइरहेको छ। त्यसैगरी, मुख्य सचिवको संयोजकत्वमा बसेको बैठकको निर्देशनअनुसार परराष्ट्र सचिवको नेतृत्वमा बहु–सरोकारवाला आपतकालीन उद्धार टोली गठन प्रक्रिया अघि बढाइएको छ। यस टोलीमा सम्बन्धित मन्त्रालय, सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरू समावेश हुनेछन्।

समस्यामा परेका नेपालीका प्रकार

मन्त्रालयका अनुसार हाल चार किसिमका नेपाली नागरिक समस्यामा परेका छन्स्

भिसा र टिकट भए पनि उडान रोकिँदा यात्रा गर्न नसक्ने अवस्था

गन्तव्य देशमा पुगेपछि विमानस्थलबाट बाहिर निस्कन कठिनाइ

विशेषगरी युरोप वा अमेरिका जाँदा ट्रान्जिटमा अलपत्र पर्ने अवस्था

गन्तव्य देश पुगे पनि रोजगारदातासम्म पुग्न नसक्ने श्रमिक

यस विषयमा सम्बन्धित निकाय र वैदेशिक रोजगार व्यवसायीहरूसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।

थप सम्भावित निर्णय

हालको परिस्थितिलाई मध्यनजर गर्दै नयाँ श्रम स्वीकृति ९लेबर पर्मिट० जारी गर्ने वा नगर्ने, उडान अस्थायी रूपमा स्थगित गर्ने तथा अध्ययनका लागि आवश्यक अनुमति ९एनओसी० दिने विषयमा आन्तरिक छलफल भइरहेको बताइएको छ। आवश्यकता अनुसार केही समयका लागि नयाँ प्रस्थान रोक्न सकिने संकेत पनि गरिएको छ। उद्धार तथा व्यवस्थापन कार्यमा अन्तर्राष्ट्रिय संस्थासँग पनि सहकार्य गरिने तयारी छ। विशेष गरी अन्तर्राष्ट्रिय श्रम संगठनसँग आवश्यक समन्वय गरिने बताइएको छ।

सरकारले परिस्थितिको निरन्तर मूल्यांकन गर्दै सम्बन्धित देश तथा छिमेकी मुलुकहरूले चाल्ने कदमका आधारमा आफ्नो उद्धार रणनीति तय गर्ने जनाएको छ। अन्त्यमा, मन्त्रालयले मध्यपूर्वमा रहेका सबै नेपाली नागरिकलाई सतर्क रहन, आधिकारिक स्रोतबाट प्राप्त सूचनामात्र विश्वास गर्न र आवश्यक परे सम्बन्धित दूतावास वा कन्सुलर सेवा विभागसँग सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय