रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइँदै छ। सरकारले आज ती जिल्लामा सार्वजनिक बिदा दिएको छ। परम्पराअनुसार तराई तथा भित्री मधेशका जिल्लाहरूमा भने भोलिपल्ट होली मनाइनेछ। यस वर्ष पर्यटकीय स्थल चन्द्रागिरि हिल्स मा होलीको विशेष रौनक देखिएको छ। बिहानैदेखि सर्वसाधारण, युवा तथा आन्तरिक पर्यटकहरूको भीड लागेको छ। केबलकारमार्फत हिल्स पुग्नेहरूको संख्या उल्लेख्य देखिएको छ भने त्यहाँ सांगीतिक प्रस्तुति र मनोरञ्जनात्मक कार्यक्रमसहित रंगीन माहोल बनेको छ।
सांस्कृतिक महत्व
फागु पूर्णिमाका दिन मनाइने होलीलाई असत्यमाथि सत्यको विजयको प्रतीक मानिन्छ। आपसी मेलमिलाप, सद्भाव र भाइचाराको सन्देश दिने यो पर्वमा आफन्तजन तथा साथीसङ्गीबीच अबिर र रङ साटासाट गर्ने परम्परा छ।



विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको ‘चीर’ ठड्याएर सुरु हुने पर्व पूर्णिमाको राति चीर दाह गरेपछि औपचारिक रूपमा समापन हुन्छ।
मर्यादित उत्सवको अपिल
होलीको अवसरमा राष्ट्र प्रमुख तथा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना व्यक्त गर्दै पर्वलाई सभ्य र मर्यादित ढङ्गले मनाउन आग्रह गरेका छन्। यसैबीच सुरक्षा निकायले होलीको नाममा उच्छृङ्खल गतिविधि नगर्न, जथाभावी रङ नदल्न तथा कसैलाई जबरजस्ती नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। नियम उल्लङ्घन गरे कानुनअनुसार कारबाही हुने चेतावनी पनि दिइएको छ। होलीलाई सुरक्षित, अनुशासित र आपसी सद्भाव कायम राख्दै मनाउन सरोकारवालाले सबैमा अपिल गरेका छन्।



