राजपुर नगरपालिका–६ स्थित सार्वजनिक सडकछेउ ड्रमले छोपेर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेपछि स्थानीय क्षेत्रमा त्रास फैलिएको थियो। सूचना प्राप्त हुनासाथ सुरक्षा निकाय परिचालन गरिएको थियो। नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर उक्त वस्तुलाई सुरक्षित रूपमा निष्क्रिय गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार बम जस्तो देखिने गरी टिनको ड्रमभित्र बोरामा राखिएको वस्तु वास्तविक विस्फोटक नभई माटो मात्र रहेको पुष्टि भएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको सुरक्षा स्रोतले जनाएको छ। शंकास्पद वस्तु राख्ने व्यक्तिको पहिचान तथा उद्देश्यबारे अनुसन्धान अघि बढाइएको बताइएको छ।सुरक्षा निकायले सर्वसाधारणलाई कुनै पनि शंकास्पद वस्तु देखिएमा नछुन र तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ।






