जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले घटनामा संलग्न वा जिम्मेवार देखिएका व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न सिफारिस गरिएको जानकारी दिएका छन्।प्रतिवेदन बुझाइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आयोगले घटनामा कसले आदेश दियो, कसले गोली चलायो र कसले रोक्न सकेन भन्ने सबै पक्षको अध्ययन गरेर निष्कर्ष निकालेको बताए। उनका अनुसार दोषी देखिएका सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने सुझाव प्रतिवेदनमा समावेश गरिएको छ।
अध्यक्ष कार्कीले आयोगको काम अपेक्षाभन्दा व्यापक भएकाले प्रतिवेदन तयार पार्न केही समय लागेको पनि स्पष्ट पारे। प्रतिवेदनमा उल्लेख भएका सबै विवरण सरकारले सार्वजनिक गरेपछि मात्र सार्वजनिक रूपमा थाहा हुने उनले बताए। आयोगले विशेषगरी भदौ २३ र २४ गते भएका घटनाहरूको विस्तृत अनुसन्धान गरेको थियो। ती घटनामा जिम्मेवार ठहरिएका व्यक्तिहरूविरुद्ध कानुनी कारबाहीको सिफारिस गरिएको जानकारी पनि आयोगले दिएको छ।



तत्कालीन प्रधानमन्त्री तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई पनि कारबाही सिफारिस गरिएको हो कि भन्ने प्रश्नमा अध्यक्ष कार्कीले प्रतिवेदन सार्वजनिक नभएसम्म त्यसबारे खुलाउन नसकिने बताए।उनले आयोगको कामलाई निर्वाचनसँग जोडेर गरिएको टिप्पणीहरू गलत रहेको पनि दाबी गरे। उनका अनुसार प्रतिवेदन बुझाउन ढिलाइ हुनुको कारण अनुसन्धानको दायरा फराकिलो हुनु मात्र हो।



