रोल्पामा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । जिल्लाको रून्टीगढी गाउँपालिका वडा नं.७, मोतिखन्ने डाँडामा माटो खन्नेक्रममा ढिस्को खस्दा स्थानीय खाक्सिवन निवासी ४९ वर्षीया निर्मला बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर लिप्नका लागि माटो लिन गएका बुढाथोकीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । मृतक बुढाथोकीसँगै माटो लिन गएका ७ जनामध्ये अन्य तीनजना घाइते भएका छन् । घाइते हुनेहरूमा खास्किवन निवासी २८ वर्षीया एलिना पुन, ३८ वर्षीया शान्ति पुन र ४९ वर्षीया पार्वती पुनमगर रहेको प्रहरीको भनाइ छ । घाइते सबैको अवस्था मध्यम रहेको बताइएको छ । घटना भएलगत्तै प्रहरी र स्थानीयबासीले पुरिएकाहरूको उद्धार गरेका थिए ।






