सर्वोच्च अदालतले संवैधानिक इजलास पोर्टलको शुभारम्भ गरेको छ । संवैधानिक इजलासका कामकारबाहीलाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउने उद्देश्यले पोर्टल शुरु गरिएको कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले बताउनु भयो । संविधानको रक्षा र न्यायको पारदर्शिताका लागि प्रविधिको प्रयोगलाई जोड दिँदै संवैधानिक इजलासका लागि छुट्टै पोर्टल सञ्चालनमा ल्याइएको उहाँले भनाइ छ । न्यायपालिकामा रहेका पुराना मुद्दाको फर्छ्यौटलाई प्राथमिकतामा राखिएको पनि बताउनु भयो ।
सरोकारवालाले अब अनलाइनबाटै मुद्दाको पेशी, तारिख, आदेश र फैसलाको विस्तृत विवरण प्राप्त गर्न सक्नेछन् । यसले न्याय सम्पादनलाई छिटोछरितो र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।






