प्रतिनिधि सभाको सभामुख पदको निर्वाचन प्रक्रिया शुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डोलप्रसाद अर्यालले उम्मेदवारी दर्ता गराउनु भएको छ । मनोनयन दर्ता हुँदा पार्टी सभापति रवि लामिछाने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, रास्वपाका सांसदहरु सहभागी हुनुहुन्थ्यो । संघीय संसद् सचिवालयले बिहान ११ देखि दिउँसो २ बजेसम्म दर्ताको समय तोकेको छ । दिउँसो साढे २ बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ ।
पर्सी आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने तथा सामूहिक छलफल पश्चात् निर्णयार्थ प्रस्तुत गर्ने निर्वाचन तालिका छ । सदनमा रास्वपा १८२ सिटसहित झण्डै दुई तिहाइ निकट छ । संसदीय दलको हिजोको बैठकले सभामुखमा अर्यालको नाम सर्वसम्मत चयन गरेको थियो । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा अर्याल काठमाडौं क्षेत्र नम्बर ९ बाट निर्वाचित सांसद हुनुहुन्छ ।






