काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दै गएको सवारी दुर्घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले कडा निगरानी र कारबाही अभियान सुरु गरेको छ । मादक पदार्थ (मापसे) तथा लागूपदार्थ (लापसे) सेवन गरेर सवारी चलाउने र ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूलाई लक्षित गरी यो अभियान सञ्चालन गरिएको हो ।
ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारी आफै सडकमा खटिएर अनुगमन गरिरहेका छन् भने कन्ट्रोल रुममार्फत पनि विभिन्न स्थानमा हुने नियम उल्लंघनको निगरानी भइरहेको छ । बिहान सार्वजनिक सवारी चालक र दिउँसो तथा साँझ दुईपाङ्ग्रे सवारी चालकहरूलाई केन्द्रित गरेर चेकजाँच कडा पारिएको छ ।



उपत्यकाका मुख्य चोक र दुर्घटना बढी हुने ठाउँहरूमा चालकहरूले मापसे वा लापसे गरेका छन् कि छैनन् भन्ने परीक्षण भइरहेको छ । ट्राफिक नियम उल्लंघन गर्ने, विशेषगरी रातो बत्ती नमान्ने चालकहरूलाई पनि कारबाही गरिँदै आएको छ । यस अभियानअन्तर्गत हालसम्म धेरै चालक कारबाहीमा परिसकेका छन् । आज मात्रै गरिएको सरप्राइज चेकिङमा मापसे गरेर सवारी चलाउने १२ जना चालकलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइएको ट्राफिक प्रहरीले जनाएको छ।
अब मादक पदार्थ वा लागूपदार्थ सेवन गरेर सवारी चलाउने र यात्रुको ज्यान जोखिममा पार्ने चालकहरूको लाइसेन्स खारेज गर्नसमेत सिफारिस गर्ने तयारी भइरहेको छ। ट्राफिक प्रहरीले सुरक्षित यात्राका लागि नियम पालना गर्न सबै चालकलाई आग्रह गरेको छ भने शंकास्पद अवस्था देखिएमा यात्रुलाई तुरुन्तै प्रहरीलाई जानकारी दिन पनि अनुरोध गरेको छ।



