काठमाडौं । गृहमन्त्री सुधन गुरुङले देशको आन्तरिक सुरक्षा सुदृढ बनाउन सशस्त्र प्रहरी बलको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् । चन्द्रागिरि नगरपालिका वडा नं. ८ मातातीर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानको सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम (सि.सं. १७) को दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले नवदीक्षित निरीक्षकहरूलाई राष्ट्रप्रति समर्पित, इमान्दारी, अनुशासन र व्यवसायिकताको उच्च मानक कायम राख्न पनि आग्रह गरेका छन् । मन्त्री गुरुङले सुरक्षा निकायबीच समन्वय, आधुनिक प्रविधिको प्रयोग र जनमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड समेत दिएका छन् ।



२०८१ साल मंसिर १० गतेदेखि सञ्चालित तालिमबाट ४९ जना प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षकमा दीक्षित भएका छन् । दीक्षान्त समारोहमा प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृहसचिव राज कुमार श्रेष्ठ, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीलगायत विभिन्न सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रशंसा–पत्र प्रदान गरिएको थियो ।



