समकालीन नेपाली कविता विधामा कृयाशिल कवि सुरेन्द्र देवकोटा, मौन आवाज र अन्शु खनालका ३ कविता ।
पाठशाला




पाठशालाको रित्तो आँगनमा
कसले पकाइरहेछ परिवर्तनको परिकार ?
पोतेर खरानी रंग
कसले रंगाइरहेछ चेतनाको घर ?
खनेर खलियानको बाटो
कसले देखाइरहेछ प्रवास रहर ?
कसले चलाउँदैछ छुरा
नानीहरूका कलिला हत्केलामा
र चिर्दैछ तिनीहरूका भाग्यरेखा ?
कसले लगाउँदैछ
नानीहरूका आँखामा
डाक्टर र इन्जिनियरको गाजल ?
किन भरिँदैछ
तिनीहरूका मस्तिष्कमा
अनुशासन भन्ने निषेधको हिउँ ?
कसरी उम्रिरहेछ
नानीहरूको ओठओठबाट कृतिम संस्कृति ?
र बाध्य छन्
डलरको साँङ्लोमा
आफैंलाई दास बेच्न तिनका बाबुहरू ?
किन ढाकिरहेछ उनीहरूका गुलाबी आँखामा
मरुभूमिको बालुवाको धुलो ?
कसले सिकायो नानीहरूलाई
रातलाई दिन भन्न
र साँझलाई बिहान ?
दुईचार थान
जुनकिरी उडेकै हुन्
बाँसको लिङ्गोमा
बलेकै हो एकजोर आकाशे दियो
बादलको घुम्टोभित्र
ताराहरू चम्किएका पनि हुन्
उल्काहरू झरेका पनि हुन्
उज्यालै भएको चाहीँ होइन ।
उज्यालोमा त झ्यालढोकाबाट
ह्वारह्वार पस्नु पर्छ घाम
र हाम्रो भान्सासम्मै पुग्नुपर्छ उज्यालो
नानीहरूका मनमनमा लाग्नु पर्छ घाम
पाठशालामा किताब होइन
पढाइनु पर्छ उज्यालो ।
रहर छ मलाई
नानीहरूको प्वाँख
आफै उम्रदै गरेको हेर्न
तिनका हत्केलामा आफै कोरिदै गरेका
धर्साहरू पढ्न
उतारेर तिनका आँखामा गडेको त्रास
उडून स्वतन्त्र, शान्त
पुतली उडान ।
हजुरबुबाको दौराको फेर समातेर
सिकून नानीहरूले प्रातः भ्रमण
हजुरआमाका कथामा डुल्दै
आमाको लोरी निदाउँन् ।
नानीहरूले सिकून
आफ्ना आमाबाबुबाट
बिहानीको पहिलो गीत
र पाठशालाबाट शुरु होस्
उज्यालोको अभियान ।
– सुरेन्द्र देवकोटा
OOO
क्रान्तिकारीहरूको नाममा
एउटा प्रतिक्रान्तिकारी कविता

चिसो छिंडीमा बसेर अलाप्नु आगो जस्ता वाक्यहरू
निशन्देह : क्रान्तिकारी हुनु हो !
रातो बाहेक केही नदेख्नु अन्धोपन बिल्कुल होइन
बरु हो विद्रोहको प्रतीक !
भान्सामा भात नपाक्नु
बरु पाक्नु , पाक्दै जानु लम्बेतान मनोगत आत्मलाप
त्यो पागलपन होइन
मार्क्सवादी चिन्तन हो !
बच्चाहरू भुइँमा नाङ्गै
स्वास्नी बिना तन्ना आधा सुत्नु र निद्रामा बर्बराउनु
क्रान्तिकारीहरूको महान उपलब्धि हो !
नियममा बस्नु
नियममा उठ्नु
र नियम कै कुरा गर्नु कुनै नराम्रो कुरा होइन !
भोक लाग्दा भोक नलागेको अभिनय गर्नु
दुख्दा नदुखेको बहाना गर्नु
त्यो अलिकति नराम्रो कुरा हो !
थाहा हुनु
तर / थाहा नपाए जस्तो गर्नु
त्यो अलिकति नराम्रो कुरा हो !
पर्दाले आँखा च्यातेर बाहिर भित्र चियाउनु
कोठा चिन्तनको दुर्गन्धले गन्हाउँनु
ओसले विचार जम्नु
घाम देखा नपर्नु
तर उज्यालोको कल्पना गर्नु
त्यो पनि क्रान्तिकारिता हो !
चुईङ्गमको बट्टामा नुन राख्नु
चाउचाउको कार्टुन मार्बल ओछ्याउनु
खबर कागजहरूले भित्ता टाल्नु
र पुँजीवादको विरोध गर्नु
त्यो पनि क्रान्तिकारीता हो !
गाउँ छाडेर शहर पस्नु
कलेज पढ्नु
बा आमा बिर्सनु
साथीभाइ
मेला पर्व
जीवन संस्कृति भुल्दै भुल्दै जानु
र विश्व भुमण्डलीकरणको कुरा गर्नु
त्यो पनि क्रान्तिकारिता हो !
माटो निधारमा लगाएर नारा लगाउनु
तर खेतबारी बाँझै राखेर
राष्ट्रवादको कुरा गर्नु
त्यो अलिकति नराम्रो कुरा हो !
मुठ्ठी उठाउनु
लाल सलाम चिच्याउनु
कमरेड कमरेड खेल्नु
सबै राम्रै कुरा हो
क्रान्तिकारी साथीहरू !
तर
आगोमा जलेर आगो भएँ भन्नू
पानीमा डुबेर खरानी भएँ भन्नु
ज्यादै नराम्रो कुरा हो !
– मौन आवाज
OOO
सुकुम्बासी : एउटा अपरिचित देश

शहरले सधैँ माग्छ
हात,
तर मान्छे होइन।
यो शहर उनीहरूकै हो
जसले इँटा बोके,
जसले सडक बनाए,
जसले अरूको भान्साको धुवाँ
आफ्नो फोक्सोमा भरे।
यो शहर उनीहरूकै हो,
जसले उठाए घर घरबाट फोहोर,
जसले पखाले अरूका भाँडा,
जसले धोए अरूका लुगा,
जसले राखे अरूका बच्चा काखमा
आफ्नै बच्चा घरमा रोइरहँदा।
यो शहर उनीहरूकै हो,
जसका छोराछोरी
मजदुरी गर्दा
आफ्नै बाबुले बनाएको
पुल तर्छन्,
तर बाबुको नाम
कतै कुँदिएको छैन।
यो शहर उनीहरूकै हो,
तर शहरमा
उनीहरूको ठाउँ छैन।
बिल्डिङ माथि उठ्छन्,
उनीहरू तल झर्छन्,
खोलाको किनारतिर,
फुटपाथतिर,
अँध्यारोतिर।
हात चाहिन्छ शहरलाई,
मान्छे होइन,
त्यसैले त
डोजर आउँछ बिहान,
र सोर्छ
जो बाँकी थियो ।



