काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासी खण्डमा सडक सीमा मिचेर बनाइएका अवैध संरचनाहरू हटाउन सुरु गरिएको छ । बर्दघाट नगरपालिकाले राजमार्गको दायाँ–बायाँ ८२ फिटभित्र पर्ने अस्थायी तथा स्थायी प्रकृतीका संरचनाहरू हटाउने अभियान तीव्र पारेको हो ।

बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले सडकको क्षेत्राधिकार खाली गराउनु नगरको प्राथमिकता रहेको बताउनुभयो । लामो समयदेखि सडक अतिक्रमण गरी निर्माण गरिएका घर, टहरा र व्यावसायिक संरचनाका कारण सडक विस्तार र ट्राफिक व्यवस्थापनमा समस्या परेपछि नगरपालिकाले कडाइका साथ यो कदम चालेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले कानुनी प्रक्रिया पूरा गरेर नै डोजर चलाइएको स्पष्ट पार्नुभयो । उहाँका अनुसार सडक विभागको मापदण्ड र स्थानीय सरकारको निर्णयअनुसार सडकको बीच भागबाट दुवैतर्फ ८२ फिटको क्षेत्र सडककै नाममा हुन्छ । सो क्षेत्रभित्र बनाइएका संरचनाहरू पूर्णतः अवैध हुन् । अहिले सडकको क्षेत्राधिकार मिचिएका ठाउँहरू खाली गराउने काम भइरहेको छ। कानुनको पालना गराउने क्रममा कसैलाई विभेद नगरी सबै अवैध संरचनाहरू हटाइनेछ ।

राजमार्ग अतिक्रमण गरेर बनाइएका संरचनाका कारण सवारी चालकहरूको दृष्टिमा अवरोध पुग्ने र दुर्घटनाको जोखिम बढ्ने गरेको प्राविधिकहरूको भनाइ छ । यो अभियानले सडक फराकिलो देखिने र सवारी आवागमन सहज हुने विश्वास लिइएको छ ।

नगरपालिकाले यो अभियानलाई निरन्तरता दिने जनाएको छ । सडक सीमा खाली गराइएपछि सो क्षेत्रमा वृक्षारोपण गर्ने वा पैदलयात्री मैत्री पूर्वाधार बनाउने योजना समेत नगरको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय