काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति Rabi Lamichhane आगामी जेठ १८ गते भारत भ्रमणमा जाने भएका छन् । भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उनी दुईदिने औपचारिक भ्रमणका लागि भारत जान लागेको स्रोतले जनाएको छ । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री Narendra Modi, विदेशमन्त्री S. Jaishankar, विदेश सचिव Vikram Misri तथा राष्ट्रिय सुरक्षा सल्लाहकार Ajit Doval लगायत उच्चस्तरीय भारतीय अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको बताइएको छ ।



यसका साथै लामिछानेले भारतीय जनता पार्टी (भाजपा) का पदाधिकारीहरूसँग पनि भेटघाट गर्ने तयारी रहेको बुझिएको छ । भारतले यसअघि पनि नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई औपचारिक भ्रमणमा आमन्त्रण गर्दै आएको थियो । सत्तारुढ दलका नेताको हैसियतमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पनि यस्तै प्रकृतिको भ्रमण गरेका थिए ।
भाजपा निकट एक नेताका अनुसार नेपालमा ठूलो राजनीतिक शक्तिका रूपमा उदाएको र सत्तारुढ गठबन्धनको प्रमुख दलका सभापतिको भूमिकामा रहेका कारण भारतले लामिछानेलाई विशेष प्राथमिकताका साथ भ्रमणमा बोलाएको हो । पछिल्लो समय नेपाल–भारत सम्बन्ध विभिन्न विषयमा तनावपूर्ण बन्दै गएको छ । विशेषगरी लिपुलेक, कालापानीलगायत सीमा विवादका कारण दुई देशबीच कूटनीतिक दूरी बढेको विश्लेषण भइरहेको छ । यही सन्दर्भमा भारतीय विदेश सचिव विक्रम मिस्रीको प्रस्तावित नेपाल भ्रमणसमेत स्थगित भएको थियो ।
प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणको निमन्त्रणा स्वीकार गरिसके पनि भ्रमणको मिति भने अझै तय हुन सकेको छैन । त्यस्तै परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण पनि दुईपटक स्थगित भइसकेको छ । यस्तो अवस्थामा रास्वपा सभापति लामिछानेको भारत भ्रमणलाई राजनीतिक तथा कूटनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।



