काठमाडौं । सरकारी स्वास्थ्य संस्थामा उपचार सेवा लिन आउने सेवाग्राहीले भोग्दै आएको लामो लाइन, झन्झटपूर्ण भुक्तानी प्रक्रिया तथा सेवा प्राप्तिमा हुने ढिलाइलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ काठमाडौं महानगरपालिकाले शिक्षण अस्पताललाई १ करोड ७० लाख १६ हजार ६ सय ७० रुपैयाँ बराबरका अत्याधुनिक प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको छ ।

सार्वजनिक खरिद प्रक्रियामार्फत प्राप्त गरिएका यी उपकरणले अस्पतालको बहिरङ्ग (ओपीडी) सेवा व्यवस्थापनलाई थप व्यवस्थित, छरितो र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको छ । महानगरपालिकाले अस्पताललाई १६ वटा इन्टरएक्टिभ किओस्क मेसिन, ६५ वटा अल–इन–वन डेस्कटप कम्प्युटर तथा सर्भर र र्याम क्षमताको स्तरोन्नतिका लागि आवश्यक प्रविधिगत पूर्वाधार उपलब्ध गराएको हो ।

हस्तान्तरण गरिएका इन्टरएक्टिभ किओस्क मेसिनमार्फत सेवाग्राहीले शुल्क भुक्तानी गर्न, आफ्नै रिपोर्ट प्रिन्ट गर्न तथा उपचारसम्बन्धी आवश्यक रकम घरबाटै जम्मा गर्न सक्ने सुविधा प्राप्त गर्नेछन् । साथै अल–इन–वन डेस्कटपमार्फत बिरामीको उपचार, परीक्षण, रिपोर्ट तथा स्वास्थ्य अभिलेखसम्बन्धी सम्पूर्ण विवरण एकीकृत रूपमा अवलोकन गर्न सकिने व्यवस्था गरिएको छ ।

काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले प्रविधिको प्रभावकारी प्रयोगमार्फत सरकारी अस्पतालमा देखिने भीडभाड र लामो प्रतीक्षाको समस्यालाई क्रमशः अन्त्य गर्न महानगरले सहकार्यको नीति अवलम्बन गरेको बताउनुभयो । उहाँले उपचारका लागि अस्पताल पुग्ने बिरामी र उनका आफन्तहरू शारीरिक तथा मानसिक रूपमा पहिलेदेखि नै पीडामा रहने भएकाले सेवा प्राप्त गर्ने क्रममा थप सास्ती व्यहोर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

महानगरपालिकाको यो पहललाई सरकारी स्वास्थ्य संस्थामा डिजिटल रूपान्तरणलाई तीव्रता दिने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । यसबाट अस्पतालको सेवा प्रवाहमा पारदर्शिता, कार्यदक्षता र उत्तरदायित्व अभिवृद्धि हुनुका साथै सेवाग्राहीको समय र श्रमको बचत हुने विश्वास गरिएको छ । महानगरपालिकाले उपलब्ध गराएको प्रविधिगत सहयोगले शिक्षण अस्पतालको सेवा प्रवाहलाई आधुनिक, व्यवस्थित र गुणस्तरीय बनाउँदै सार्वजनिक स्वास्थ्य सेवाप्रतिको नागरिक विश्वास सुदृढ गर्न समेत योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय