विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप २०२६ सुरु हुन अब दुई दिन मात्र बाँकी रहेको छ। विश्वभरका करोडौं फुटबल समर्थकले प्रतिक्षा गरिरहेको २३औँ संस्करणको विश्वकप यसपटक अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्दैछन्। इतिहासमै पहिलो पटक तीन राष्ट्रले संयुक्त रूपमा आयोजना गर्न लागेको विश्वकपमा ४८ टोलीको सहभागिता रहनेछ भने कुल १०४ खेल खेलाइनेछन्।
यसपटकको विश्वकप धेरै अर्थमा ऐतिहासिक मानिएको छ। पहिलो पटक ४८ टोली सहभागी हुने, पहिलो पटक तीन राष्ट्रले संयुक्त रूपमा आयोजना गर्ने तथा पहिलो पटक नकआउट चरणमा राउण्ड अफ ३२ समावेश गरिएकाले प्रतियोगिता थप रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।



कहिलेदेखि सुरु हुँदैछ विश्वकप ?
फिफा विश्वकप २०२६ को उद्घाटन खेल जुन ११ मा मेक्सिको सिटीस्थित ऐतिहासिक एज्टेका स्टेडियममा हुनेछ। उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्नेछ। प्रतियोगिता जुलाई १९ सम्म सञ्चालन हुनेछ र सोही दिन फाइनल खेल खेलाइनेछ।
मुख्य मिति
- उद्घाटन खेल : जुन ११, २०२६
- समूह चरण : जुन ११–२७
- राउण्ड अफ ३२ : जुन २८–जुलाई ३
- राउण्ड अफ १६ : जुलाई ४–७
- क्वार्टरफाइनल : जुलाई ९–११
- सेमिफाइनल : जुलाई १४–१५
- तेस्रो स्थानको खेल : जुलाई १८
- फाइनल : जुलाई १९
१६ सहरमा खेल
विश्वकपका खेलहरू अमेरिका, मेक्सिको र क्यानडाका १६ विभिन्न सहरमा आयोजना हुनेछन्। अमेरिकामा सबैभन्दा धेरै ११ सहरमा खेल हुनेछ भने मेक्सिकोका ३ र क्यानडाका २ सहरमा खेल आयोजना गरिनेछ।
अमेरिका
न्यूयोर्क/न्यूजर्सी, लस एन्जलस, डलास, एटलान्टा, कान्सास सिटी, ह्युस्टन, मियामी, फिलाडेल्फिया, सिएटल, बोस्टन र सान फ्रान्सिस्को।
मेक्सिको
मेक्सिको सिटी, ग्वाडलाजारा र मोन्टेरे।
क्यानडा
टोरन्टो र भ्यानकुभर।
प्रतियोगिताको नयाँ ढाँचा
यसअघि ३२ टोली सहभागी हुने विश्वकपमा अब ४८ टोली खेल्नेछन्। सबै टोलीलाई १२ समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहमा चार टोली रहनेछन्। समूहका शीर्ष दुई टोली तथा तेस्रो स्थानमा रहने उत्कृष्ट आठ टोली नकआउट चरणमा पुग्नेछन्। यसरी कुल ३२ टोली राउण्ड अफ ३२ मा प्रवेश गर्नेछन्।
फाइनल कहाँ हुनेछ ?
विश्व फुटबलको सर्वोच्च उपाधिका लागि हुने फाइनल खेल जुलाई १९ मा अमेरिकाको न्यूयोर्क/न्यूजर्सीस्थित मेटलाइफ स्टेडियममा आयोजना हुनेछ। ८२ हजारभन्दा बढी दर्शक क्षमता रहेको यस रंगशालामा विश्व च्याम्पियनको टुंगो लाग्नेछ।
किन विशेष छ विश्वकप २०२६ ?
- इतिहासकै सबैभन्दा ठूलो विश्वकप।
- पहिलो पटक ४८ टोलीको सहभागिता।
- कुल १०४ खेल आयोजना।
- तीन राष्ट्रद्वारा संयुक्त आयोजना।
- राउण्ड अफ ३२ को नयाँ नकआउट चरण।
- जोर्डन, उज्बेकिस्तान, केप भर्डे र कुराकाओजस्ता राष्ट्रहरूको पहिलो सहभागिता।
सन् २०२२ मा कतारमा सम्पन्न विश्वकप जितेको अर्जेन्टिना यसपटक साविक विजेताका रूपमा मैदान उत्रनेछ। कप्तान लियोनेल मेस्सीसहितको अर्जेन्टिनी टोली उपाधि रक्षा गर्ने लक्ष्यमा रहनेछ भने ब्राजिल, स्पेन, फ्रान्स, इंग्ल्यान्डलगायत टोली पनि उपाधिका प्रमुख दाबेदारका रूपमा हेरिएका छन्।



