काठमाडौं । प्रहरीले काठमाडौँको नागढुंगा नाकाबाट भन्सार छली गरी ल्याइएको १४ थान आइफोन बरामद गरेको छ । बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु.२ ख. ६५६६ नम्बरको यात्रु बाहक बस यात्रुवाहक बसमा गरिएको विशेष जाँचका क्रममा ती मोबाइल सेटहरू फेला परेको प्रहरीले जनाएको छ ।



प्रहरीका अनुसार नियमित सुरक्षा निगरानी तथा चेकजाँचका क्रममा बसभित्र शंकास्पद अवस्थामा ल्याइएका आइफोनहरू बरामद गरिएको हो । बरामद गरिएका मोबाइल फोनहरू आवश्यक कागजात तथा भन्सार प्रक्रिया पूरा नगरी ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले बरामद गरेका सबै आइफोनहरू थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाएको जनाएको छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको र भन्सार छलीमा संलग्न व्यक्ति तथा समूहको पहिचान गर्ने कार्य अघि बढाइएको छ ।
पछिल्लो समय भन्सार छली गरी विभिन्न विद्युतीय सामग्री तथा महँगा मोबाइल फोन नेपाल भित्र्याउने प्रयास बढ्दै गएपछि सुरक्षा निकायले नाकाहरू तथा मुख्य राजमार्गहरूमा निगरानी कडा बनाएको छ । प्रहरीले यस्ता अवैध गतिविधिविरुद्ध निरन्तर कारबाही जारी रहने जनाएको छ । प्रहरीको यो कारबाहीले राजस्व चुहावट नियन्त्रण तथा अवैध व्यापार न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।



