काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि तयार गरेको नीति तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत रूपमा पारित गरेको छ । बिहीबार नगरपालिकाको प्रशासनिक भवनस्थित सभाहलमा सम्पन्न नगरसभाको १८औँ अधिवेशनको पहिलो बैठकले नीति तथा कार्यक्रम पारित गर्दै आगामी वर्षको विकासको मार्गचित्र तय गरेको हो ।

नीति तथा कार्यक्रममा आर्थिक समृद्धि, सामाजिक विकास, पूर्वाधार विस्तार, वातावरण संरक्षण तथा सुशासनलाई मुख्य प्राथमिकताका रूपमा समेटिएको छ । नगरसभामा उपस्थित जनप्रतिनिधिहरूले नीति तथा कार्यक्रममाथि छलफल गरी सर्वसम्मत रूपमा अनुमोदन गरेका थिए ।

पारित नीति तथा कार्यक्रममा आर्थिक क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ । कृषि उत्पादन वृद्धि, पशुपन्छी पालनको व्यवसायीकरण, सिँचाइ सुविधाको विस्तार, उद्योग तथा व्यवसाय प्रवद्र्धन, पर्यटन विकास, भूमि व्यवस्थापन, सहकारी तथा वित्तीय सेवाको सुदृढीकरण, श्रम तथा रोजगार सिर्जना र गरिबी न्यूनीकरणका कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको छ ।

सामाजिक विकासतर्फ महिला सशक्तीकरण, बालबालिकाको संरक्षण, ज्येष्ठ नागरिकको सम्मानजनक जीवन, अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चितता, दलित तथा पछाडि पारिएका समुदायको उत्थान तथा सामाजिक समावेशीकरणलाई जोड दिइएको छ । साथै शिक्षा, स्वास्थ्य, पोषण, खेलकुद, युवा विकास, खानेपानी तथा सरसफाइ, सामाजिक सुरक्षा, पञ्जीकरण सेवा तथा भाषा–संस्कृतिको संरक्षण र प्रवद्र्धनका कार्यक्रमलाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

पूर्वाधार विकासअन्तर्गत भवन तथा बस्ती विकास, सडक तथा पुल निर्माण, यातायात व्यवस्थापन, जलस्रोतको उपयोग, विद्युत तथा स्वच्छ ऊर्जाको प्रवद्र्धन र सूचना तथा सञ्चार प्रविधिको विस्तारलाई प्राथमिकतामा राखिएको छ । नगरवासीको जीवनस्तर उकास्ने उद्देश्यले आधारभूत पूर्वाधारको विकासलाई निरन्तरता दिने नीति लिइएको छ ।

त्यसैगरी वन तथा वातावरण संरक्षणतर्फ वन क्षेत्रको संरक्षण, भू–संरक्षण, जैविक विविधताको संवद्र्धन, फोहोर व्यवस्थापन, वातावरणीय सन्तुलन कायम राख्ने कार्यक्रम तथा विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलनका योजनाहरू समावेश गरिएका छन्।

सुशासन तथा संस्थागत विकासका क्षेत्रमा नीति, कानुन र न्यायिक प्रणालीलाई थप प्रभावकारी बनाउने, संस्थागत क्षमता अभिवृद्धि गर्ने, जनशक्ति व्यवस्थापन र सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने, तथ्यांक प्रणाली सुदृढ गर्ने तथा योजनाबद्ध विकास व्यवस्थापनलाई प्राथमिकता दिने उल्लेख गरिएको छ।

नगरसभाको बैठकसँगै आयोजित विशेष कार्यक्रममा नेपाल सरकार तथा स्थानीय तहमा २५ वर्ष वा सोभन्दा बढी अवधि सेवा गरेका राष्ट्रसेवक कर्मचारीहरूलाई दीर्घसेवा पदक तथा कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो । नगरपालिकाले कर्मचारीहरूको समर्पण, अनुभव र सार्वजनिक सेवामा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरेको जनाएको छ ।

नगरसभाबाट नीति तथा कार्यक्रम पारित भएसँगै चन्द्रागिरि नगरपालिकाले आगामी आर्थिक वर्षमा आर्थिक विकास, सामाजिक न्याय, दिगो पूर्वाधार निर्माण, वातावरणीय संरक्षण तथा सुशासनमार्फत समृद्ध नगर निर्माणको लक्ष्यलाई अघि बढाउने विश्वास व्यक्त गरेको छ । नगरसभाको अर्को बैठक असार ९ गते बस्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय