काठमाडौं । अन्तर्राष्ट्रिय लागूऔषध दुव्र्यसन तथा अवैध ओसारपसारविरुद्ध दिवस–२०२६ को अवसरमा चन्द्रागिरि–७ रेस्पेक्ट होम रिह्याबिलिटेसन सेन्टरले लागूऔषध दुव्र्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले विशेष सचेतनामूलक कार्यक्रम गरेको छ । संस्थाले ब्यानर प्रदर्शन गर्दै लागूऔषधको प्रयोगले व्यक्ति, परिवार र समाजमा पार्ने गम्भीर असरबारे सन्देश प्रवाह गरेको हो ।
“You Use, You LoseÆ / æStop Addiction” नारा समावेश गरिएका ब्यानरमा लागूऔषध प्रयोगको परिणामस्वरूप जीवनमा हुने क्षति र पतनलाई संकेत गर्दै लागूऔषधको कुलतले मानिसको भविष्य, परिवारिक सम्बन्ध, स्वास्थ्य र सामाजिक प्रतिष्ठामा पु¥याउने असरलाई प्रतीकात्मक रूपमा उजागर गरेका छन् ।



हरेक वर्ष जुन २६ मा विश्वभर मनाइने अन्तर्राष्ट्रिय लागूऔषध दुव्र्यसन तथा अवैध ओसारपसारविरुद्ध दिवसको सन्दर्भमा गरिएको यो अभियानले विशेषगरी युवापुस्तालाई लक्षित गरेको संस्थाले जनाएको छ । पछिल्लो समय युवामाझ लागूऔषध प्रयोगको जोखिम बढ्दै गएको भन्दै समयमै सचेतना फैलाउन आवश्यक रहेको संस्थाको भनाइ छ ।
रेस्पेक्ट होमले पुनःस्थापना सेवामात्र नभई समाजमा लागूऔषध नियन्त्रणका लागि जनचेतना अभिवृद्धि, परिवारको भूमिका सुदृढीकरण तथा समुदायमा सकारात्मक सोच विकास गर्ने उद्देश्यले नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । संस्थाका अनुसार लागूऔषधको कुलतबाट प्रभावित व्यक्तिलाई उपचार र पुनःस्थापनाको अवसर दिनुका साथै समाजमा उनीहरूलाई पुनः सम्मानपूर्वक स्थापित गराउनु पनि आफ्नो प्रमुख लक्ष्य रहेको छ ।
उक्त अवसरमा संस्थाले लागूऔषध दुव्र्यसनविरुद्ध जनचेतनामूलक सामग्री वितरण गरेको थियो ।



