काठमाडौं । देशभर मनसुन सक्रिय रहँदा पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा कञ्चनपुरको हनुमाननगर क्षेत्रमा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरेको विवरणमा हनुमाननगरमा १४७.४ मिलिमिटर वर्षा भएको जनाएको हो ।
मौसमविद्का अनुसार २४ घण्टाको अवधिमा १ सय मिलिमिटरभन्दा बढी वर्षा हुनु धेरै भारी वर्षाको श्रेणीमा पर्दछ । यस्तो वर्षाले नदी तथा खोलामा पानीको बहाव बढ्ने, डुबान तथा पहिरोको जोखिम उच्च हुने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।



महाशाखाले अहिले पनि मधेश प्रदेश बाहेक देशका अधिकांश प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको जनाएको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।
आज राति देशका पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ । साथै कोशी प्रदेशका पहाडी र तराईका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
यसका अतिरिक्त कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । प्रतिकूल मौसमका कारण दैनिक जनजीवन र यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।
विशेषगरी पहिरोको जोखिम भएका पहाडी क्षेत्र, नदी तथा खोलाको तटीय बस्ती र डुबान हुने सम्भावित स्थानका बासिन्दालाई उच्च सतर्कता अपनाउन तथा मौसमसम्बन्धी आधिकारिक सूचनालाई निरन्तर पछ्याउन विभागले आग्रह गरेको छ ।



