काठमाडौं । चन्द्रागिरि नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी तथा विभिन्न वडाका प्रतिनिधिहरूकोसहभागिता रहेको थियो । कार्यक्रममा पूर्णखोप अभियानलाई सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्ने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सम्बन्धित निकायहरूको योगदानको मूल्यांकन गर्दै कदरपत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले बालबालिकालाई समयमै सबै खोप उपलब्ध गराउनु प्रत्येक अभिभावकको दायित्व भएको उल्लेख गर्दै पूर्णखोप सुनिश्चितता कायम राख्न सबैको निरन्तर सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाँले घोषणा मात्र अन्तिम उपलब्धि नभई आगामी दिनमा पनि खोपबाट छुटेका बालबालिका नगरमा नहुने वातावरण निर्माण गर्नु चुनौतीपूर्ण र महत्वपूर्ण कार्य भएको बताउनु भयो ।

नगरउपप्रमुख बसन्ती श्रेष्ठले नगरपालिकाले नियमित खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै सबै लक्षित बालबालिकासम्म खोप सेवा पु¥याउन सफल भएपछि पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको बताउनु भयो । यस अभियानले बालबालिकालाई खोपबाट रोकथाम गर्न सकिने विभिन्न रोगबाट सुरक्षित राख्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास समेत व्यक्त गर्नुभयो । उपप्रमुख श्रेष्ठले पूर्णखोप अभियानलाई दीगो रूपमा निरन्तरता दिँदै आगामी वर्षहरूमा पनि स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।

चन्द्रागिरि नगरपालिकाले पूर्णखोपको सुनिश्चितता निर्देशिका बमोजिम घरधुरी सर्वेक्षण, वडा स्तरीय खोप समन्वय समितिको बैठक, एक महिना खोज र खोप अभियान सञ्चालन गरेको थियो । यस्तै सम्पूर्ण वडाहरुमा भेरिफिकेशन तथा आसीएम, पूर्णखोप सुनिश्चित वडा घोषणा सम्पन्न गरी जिल्ला खोप समन्वय समिति काठमाडौंमा पूर्णखोप सुनिश्चित नगरपालिका घोषणाका लागि भेरिफिकेशन तथा प्रमाणीकरणका लागि पत्राचार गरेको थियो । जिल्ला खोप समन्वय समितिले नगरपालिकामा अनुगमन गरी प्रमाणीकरण गरेपछि असार २६ गते पूर्णखोप चन्द्रागिरि नगरपालिकाले सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय