मकवानपुरका पालिकाहरुले चालु आर्थिक वर्षको खर्च विवरण सार्वजनिक गरेको छ । बकैया गाउँपालिकाले बिहिबार अबेर राती खर्च विवरण सार्वजनिक गरेको थियो भने त्यसअघि कैलाश गाउँपालिकाले बिहिबार दिउँसै खर्च विवरण सार्वजनिक गरेको थियो । शुक्रबार इन्द्रसरोवर गाउँपालिका र बागमती गाउँपालिकाले पनि खर्च विवरण सार्वजनिक गरेको छ ।

बकैया गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा चालुतर्फ ५२ करोड ४७ लाख ५३ हजार ९२ रुपैयाँ ७ पैसा (६३.४७ प्रतिशत) खर्च भएको जनाएको छ । पुँजीगततर्फ २० करोड ४२ लाख ८५ हजार ६१४ रुपैयाँ (७२.७० प्रतिशत) खर्च भएको जनाएको छ । चालु र पुँजीगत गरी ७३ करोड ८४ लाख ३८ हजार ७०६ रुपैयाँ ७ पैसा (६०.१८ प्रतिशत) खर्च भएको गाउँपालिकाले जनाएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रम तथा बजेट कार्यान्वयनको वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार चालु आर्थिक वर्षका लागि विनियोजित ४२ करोड २० लाख बजेटमध्ये ३२ करोड ५७ लाख ५८ हजार ९१९ रुपैयाँ ५४ पैसा (७७.२ प्रतिशत) खर्च भएको छ । चालु खर्चतर्फ २८ करोड ९८ लाख ८० हजार बजेटमध्ये २३ करोड ६८ लाख ११ हजार १४४ रुपैयाँ १२ पैसा (८२.३१ प्रतिशत) खर्च भएको छ । त्यस्तै पुँजीगततर्फ १३ करोड २१ लाख २० हजार बजेटमध्ये ८ करोड ८९ लाख ४७ हजार ७७५ रुपैयाँ ४२ पैसा (६७.६३ प्रतिशत) खचए भएको गाउँपालिकाले जनाएको छ ।

यस्तै मकवानपुरको बागमती गाउँपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित ८२ करोड ८५ लाख २७ हजार ६७४ रुपैयाँ मध्ये ८३.२५ प्रतिशत बजेट खर्च भएको जानकारी गराएको छ । बागमती गाउँपालिकामा चालुतर्फ ८९.०४ प्रतिशत र पुँजीगततर्फ ७५.५३ प्रतिशत बजेट खर्च भएको छ । यस्तै थाहा नगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित बजेट मध्ये ७२.६६ प्रतिशत अर्थात् ७१ करोड २ लाख ४८ हजार रुपैयाँ खर्च भएको छ । थाहा नगरपालिकाले चालुतर्फ ८१.९६ प्रतिशत (४८ करोड २४ लाख, ३२ हजार रुपैयाँ) बजेट खर्च गरेको छ भने पुँजीगततर्फ ५८.५९ प्रतिशत (२२ करोड ७८ लाख १४ हजार रुपैयाँ) खर्च भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय