काठमाडौं । नेपाली कला, संगीत र नृत्य क्षेत्रको विकास तथा संरक्षणमा लामो समयदेखि सक्रिय योगदान पुर्याउँदै आएका नृत्यकर्मी रवि राना मगर कलानिधि इन्दिरा संगीत महाविद्यालयको ६३औँ वार्षिकोत्सवका अवसरमा सम्मानित भएका छन् ।

सांस्कृतिक संस्थानअन्तर्गत राष्ट्रिय नाचघर, जमलमा आयोजित सांगीतिक कार्यक्रम तथा सम्मान समारोहमा महाविद्यालयले संगीत र सांस्कृतिक क्षेत्रमा निरन्तर योगदान पुर्याएका स्रष्टाहरूमध्ये रवि राना मगरलाई सम्मान प्रदान गरेको हो । यस वर्ष महाविद्यालयले अन्य दुई जना स्रष्टालाई पनि सम्मान गरेको छ ।

महादेवस्थान गाउँपालिका–९ (साविक बाणस्थली) मा जन्मिएका रवि राना मगर हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ मा बसोबास गर्दै आएका छन् । बाल्यकालदेखि नै नृत्यप्रति विशेष रुचि राख्ने उनले विद्यालय तहदेखि नै विभिन्न युवा क्लब तथा सांस्कृतिक संस्थामार्फत आफ्नो कलायात्रा सुरु गरेका थिए ।

नृत्यकला र संगीतमा दक्षता हासिल गर्न उनले स्वर्गीय कथक गुरु सुरेश मिश्र, नृत्य निर्देशक राजु शाह, स्वर्गीय मनोरञ्जन जोशीलगायतका अनुभवी गुरुहरूबाट प्रशिक्षण लिएका छन् । उनले कलानिधि इन्दिरा संगीत महाविद्यालयबाट संगीत प्रभाकरसम्मको अध्ययन पनि पूरा गरेका छन् ।

राना मगरले नेपाली कला, संस्कृति र लोकपरम्पराको संरक्षण तथा प्रवद्र्धनलाई आफ्नो जीवनको प्रमुख उद्देश्य बनाएका छन् । नेपाल बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले यसको मौलिक कला र संस्कृतिको संरक्षणमा राज्यले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने उनको धारणा छ । कला, संगीत, नृत्य, गायन र वादनको अध्ययन–अध्यापन तथा संरक्षणका लागि दीर्घकालीन सरकारी नीति आवश्यक रहेको विषयमा उनी निरन्तर आवाज उठाउँदै आएका छन् । उनले नृत्यकर्मीहरूको हकहितका लागि विभिन्न पेशागत तथा सांस्कृतिक संस्थाको स्थापना र नेतृत्वमा पनि सक्रिय भूमिका निर्वाह गरेका छन् ।

हाल उनी नवरस संगीत पाठशालामार्फत नयाँ पुस्तालाई संगीत र नृत्य प्रशिक्षण प्रदान गरिरहेका छन् । यसका साथै सामाजिक अभियान, सामुदायिक विकास, विपद् व्यवस्थापन तथा स्थानीय स्तरका विभिन्न सामाजिक गतिविधिमा समेत उनको सक्रिय सहभागिता रहेको छ । लामो समयदेखि कला र संस्कृतिको संरक्षण, कलाकारहरूको क्षमता विकास तथा नेपाली मौलिक पहिचानको प्रवद्र्धनमा पुर्याएको योगदानको कदर गर्दै कलानिधि इन्दिरा संगीत महाविद्यालयले उनलाई सम्मान गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय